२० असार, बाँके । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालको रेडियोग्राफर पदमा करारको रुपमा कार्यरत खालिद अहमद सिद्दिकी विरुद्ध अख्तियारले विषेश अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
झुट्टा बिल भरपाई बनाई राजस्व रकम दाखिला नै नगरी आफैले राख्ने गरेको उनी विरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
Advertisement
अख्तियारले अनुसन्धान गर्ने क्रममा सिद्दिकीले सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ १२ हजार रुपैँया लिई अस्पतालको राजश्व खातामा जम्मा नगरेर बदनियत तरिकाले अर्कौ व्यक्तिको सक्कलै बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरी सरकारी सार्वजनिक कागजात सच्याई नक्कली बिल बनाएको खुल्न आएको छ ।
उक्त रकम भेरी अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको आरोप पत्रमा भनिएको छ ।
Advertisement
खालिद अहमद सिद्दिकीलाई सरकारी सार्वजनिक निकाय भेरी अस्पतालको कागजात सच्याई नक्कली बिल बनाएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवानाको सजाय आरोप पत्रमा तोकिएको छ ।
साथै सेवाग्राहीबाट लिएको रकम हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा उनलाई बिगो कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुनसमेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
टिप्पणीहरू