८ बैशाख, दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ ।
Advertisement
बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल तथा पारितको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
Advertisement
यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यस अघि सोमबार बसेको लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् ।
Advertisement
बैठकमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा कुश्मा थारुले पेट्रोलियम पदार्थमा गरिएको नीतिगत व्यवस्थाले राज्यलाई नोक्सानी र व्यवसायीलाई फाइदा पुगेको आरोप लगाउँदै मूल्यवृद्धिको विरोध गरेका थिए । उनले इन्धन महँगिँदा आम नागरिक प्रत्यक्ष रूपमा मारमा परेको बताए । प्रदेश सभा सदस्य इन्द्राकुमारी गहतराजले संघीय सरकार गठन भएयता नुनदेखि सुनसम्म अत्यधिक मूल्यवृद्धि भएको उल्लेख गर्दै जनताको दैनिक जीवन कष्टकर बनेको बताउदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।
प्रदेश सभा सदस्य हेमा बेल्वासेले सीमापारिबाट ल्याइने सामान्य घरायसी सामानमा १०० रुपैयाँभन्दा माथि भन्सार तिर्नुपर्ने व्यवस्था र पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति कडा आपत्ति जनाएका छन् । आफू गरिब नागरिकको आवाज बनेर उभिएको उल्लेख गर्दै उनले सीमावर्ती क्षेत्रका नागरिकले सामान्य सामग्री ल्याउँदा अपमानजनक व्यवहार भोग्नुपरेको बताएका थिए ।
Advertisement
यस्तै, प्रदेश सभा सदस्य तारा थापाले अत्यधिक मूल्यवृद्धिका कारण विपन्न वर्गको जीवनयापनमा थप कठिनाइ आएको बताउँदै तत्काल राहत दिनुपर्नेमा माग गरेका थिए ।

















टिप्पणीहरू