१३ भदौ, गोरखा । गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न उच्च स्तरीय कार्यदल गठन गरिएको छ ।
गोरखाको गण्डकी गाँउपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
Advertisement
केही दिनयता तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशित गरेका छन । जसपछि मन्त्री रामनाथ अधिकारीले अध्ययन गर्न कार्यदल गठन गरेका हुन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा मंगलबार कार्यदल गठन गरेको हो ।
Advertisement
कार्यदलमा नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक काशिनाथ चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत रिजन कार्की, केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनार, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्ट रहेका छन ।
एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार प्रकाशित भएको थियो ।
टिप्पणीहरू