३ जेठ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् ।
धानखोला देउराली–हर्रे–चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे ।
Advertisement
उहाँले प्रदेश सडक गुरु योजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए । ‘परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन । साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेका छौँ’ उनले भने, ‘साना सडकमा स्थानीय सरकारले लगानी गर्ने र मझौला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएका छौँ ।’
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन् । अहिले ती मध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्नेगरी योजना अघि बढाइएको छ ।
Advertisement
धानखोला देउराली–हर्रे–चाक्ला मोटरबाटो सडकलाई बृहत् सडकको रूपमा प्राथमिकतामा राखिएको र संघीय सरकारसँग समेत पहल भइरहेको जानकारी गराए ।
उक्त सडक प्रदेश राजधानीसँग जोड्ने सहज मार्गको रूपमा रहने र नागरिकलाई पहुँच सुनिश्चित गर्ने बताए ।
Advertisement
सरकारले बनाउने पूर्वाधारहरू नागरिकको जीवनस्तर उकास्नका लागि केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
शितगंगा नगरपालिका–११ का वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ, कपिलवस्तु र अर्घाखाँचीको संगमस्थल क्षेत्र पर्ने भएकाले विकास निर्माणको कामलाई थप उचाइमा पुर्याउन जोड दिइएको हो । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष भीमबहादुर केसी, वडा नम्बर १० का अध्यक्ष केशव बेल्वासे, स्थानीय अगुवा दिनेश पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Advertisement
आयोजनाको अनुगमन
मुख्यमन्त्री चेतनारायण आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पुल, तटबन्ध, सडक योजना तथा विद्यालय क्षेत्रको अनुगमन गरेका छन् ।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको रङ्गसिङ खोला पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ । बाढीले कटानको जोखिम बढाउने भएकाले तटबन्धको योजना अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । त्यस्तै, विद्यालयमा कक्षाकोठा थप गर्नुपर्ने लगायत विषयमा पनि अनुगमन गरिएको हो ।
टिप्पणीहरू