४ जेठ, बाँके । चलचित्र पत्रकार संघ नेपाल बाँकेले मोफसलमा रहेर कला कर्म र पत्रकारिता गरिरहेका दुई जनालाई सम्मान गरेको छ ।
२६ औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरेको हो । सुवेदीलाई तीन हजार एक सय र गिरीलाई दुई हजार एक सय नगद रुपैयाँ र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
Advertisement
मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्र निर्देशन गरेका छन् । यस्तै चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरि पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्ररिषि चौलागाईले चलचित्रप्रतिको आफ्नो लगाव रहेको बताउदैं चलचित्र हेर्नका लागि गरेको विगतको संघर्ष स्मरण गरे । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपुरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायविच समन्वय बढाउन भुमिका खेलिरहेको पनि उनले बताए ।
Advertisement
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताउदैं नेपालगञ्जमा सुविधा सम्पन्न फिल्म हल निर्माण हुनु पनि गौरवको विषय भएको बताए ।
केन्द्रबाट दर्शक भेट्न नेपालगञ्ज आएका कलाकारलाई पत्रकार सँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई उनले सुझाव दिए । पत्रकार निरज गौतम, संगितकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धी सिप अभिवृद्धि गर्न सुझाव दिएका छन् ।
Advertisement
आएका सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने संघका अध्यक्ष रामचन्द्र पौडेलले बताए। कार्यक्रममा स्वागत कार्यवहाक सचिव लक्ष्मी तिमिल्सिनाले गरेकि थिइन ।
टिप्पणीहरू