२६ पौष, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ जनादेशका आधारमा गठन भएको वर्तमान सरकारलाई सफल पार्ने बाहेक अर्को विकल्प नभएको बताएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा केही काम गरेर देखाउन चाहेको प्रसङ्ग जोड्दै महासचिव पोखरेलले नेकपा (एमाले) ले वर्तमान सरकारलाई सफल बनाउन अधिकतम कोशिश गर्ने बताएका हुन ।
Advertisement
आज नेकपा (एमाले) केन्द्रीय विज्ञान तथा प्रविधि विभागको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘एमाले र माओवादी बीचको सत्ता सहकार्य तोड्ने खेल शुरू भइसकेको छ ।’
मुलुकमा अस्थिरता रोक्न र स्थायित्वका लागि नेपाली काँग्रेससँग पनि संयुक्त सरकार गठनका लागि एमालेबाट प्रस्ताव गरिएको वताउँदै काँग्रेसले रूचि नदेखाए पछि स्वाभाविक रूपमा पाँच दलीय गठबन्धन छोडेर आएको माओवादी सँग सरकार गठन गर्ने सहमति भएको स्पष्ट पारे ।
Advertisement
सरकार गठनमा सफलता मिले पनि सरकारका सामु चुनौतीहरू अरू ज्यादा बृद्धि भएको र नेपाली काँग्रेस अहिलेको सत्तासमीकरण भत्काउने उपयुक्त अवसरको खोजीमा रहेको महासचिव पोखरेलले बताए ।
वर्तमान सरकार केही काम गरौं भन्ने चाहना राख्नेहरूको साझेदारी भएको वताउँदै यसलाई ऊर्जाका रूपमा लिनुपर्ने विचार व्यक्त गरे ।
Advertisement
पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख टंक कार्कीको अध्यक्षतामा बसेको बैठकमा महासचिव पोखरेलले नेकपा (एमाले) दलहरू बीच नीतिमा आधारित सहकार्यमा जोड दिने वताउँदै नेकपा (एमाले) र माओवादी केन्द्र बीचको सहकार्य पनि क्रमशः त्यही दिशामा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।
महासचिव पोखरेलले सरकार सञ्चालनको मार्गदर्शनका रूपमा रहेकोे न्यूनतम साझा कार्यक्रममा नेकपा (एमाले) ले उठाएका राष्ट्रिय मुद्दा सहमतिका साथ समावेश गर्न सफल भएको बताए ।
Advertisement
बैठकले आगामी फागुनको दोस्रो साता विज्ञान प्रविधि क्षेत्रका विज्ञहरूको भेला आयोजना गर्ने तथा डिजिटल नेपालको अवधारणा कार्यान्वयनका निम्ति राष्ट्रिय गोष्ठी आयोजना गर्ने निणर्य गरेको विभागका सचिव सञ्जिव रोकाले जानकारी दिए ।
टिप्पणीहरू