३० बैशाख, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कुखुरा व्यवसायी मञ्चले अवैध रुपमा हुँदै आएको बोइलर कुखुराको मासु विक्री वितरण बारे महत्वपूर्ण छलफल गरेको छ ।
मञ्चका अध्यक्ष धर्मराज पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले बाँके जिल्लामा भारतबाट अवैध रूपमा भित्र्याउदै आएको बोइलर कुखुरा तथा तयारी अवस्थाको मासुको विक्री वितरण नियन्त्रण गर्ने निर्णय गरेको हो ।
Advertisement
अध्यक्ष पोखरेलका अनुसार हाल नेपालगञ्ज र आसपासका क्षेत्रमा सञ्चालनमा रहेका धेरै फ्रेस हाउसहरूले भारतबाट चोरी पैठारी गरी ल्याइएका बोइलर कुखुरा र मासु खुलेआम बिक्री वितरण गरिरहेका छन् । यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै नेपाली कुखुरा व्यवसायी किसानहरूलाई आर्थिक क्षति पुर्या्इरहेको छ ।
“हामी नेपाली व्यवसायीले बैंकबाट करोडौं ऋण लिएर फार्म सञ्चालन गरिरहेका छौं तर भारतबाट आयात सस्तो मासुले हाम्रो व्यवसाय धराशायी बनाउँदैछ,“ बैठकमा सहभागी एक व्यवसायीले गुनासो गरे ।
Advertisement
यस समस्यालाई गम्भीरतापूर्वक लिँदै मञ्चले बुधबार देखि नेपालगञ्ज र वरपरका क्षेत्रका फ्रेस हाउसहरूमा अनुगमन गर्ने निर्णय गरेको छ । मञ्चले भारतबाट अवैध रूपमा कुखुरा तथा मासु ओसारपसारमा संलग्न चार जनाको नाम उल्लेख गर्दै प्रहरी समक्ष किटानी जाहेरी दिएको भए पनि हालसम्म कुनै कारबाही नभएकोमा चिन्ता व्यक्त गरिएको छ । यस विषयमा सम्बन्धित निकायसँग थप पहल गर्दै दोषीमाथि शीघ्र कानुनी कारबाहीको माग गर्ने उनीहरुले निर्णय गरेका छन् ।
बैठकमा मञ्चका उपाध्यक्ष अहमद हुसेन खाँ, सचिव तथा अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले नेपाली कुखुरा व्यवसाय जोगाउन सम्पूर्ण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
Advertisement
मञ्चले उपभोक्ताहरूलाई पनि सचेत रह्न आग्रह गर्दै, फ्रेस हाउस तथा मासु व्यवसायीहरूलाई कानुनी प्रक्रिया अवलम्बन गरी कारोबार गर्न चेतावनी दिएको छ। साथै, स्थानीय सरकार, प्रशासन, तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आगामी दिनमा थप कडा कदम चाल्ने योजना बनाएको छ ।
स्थानीय कुखुरा व्यवसायीहरूले मञ्चको यो कदमलाई स्वागत गर्दै अवैध कारोबार रोक्न र स्वदेशी उत्पादनको संरक्षण गर्न यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
टिप्पणीहरू