१५ चैत्र, बाँके । नेपालगञ्जमा बाँके रोजगार मेला सुरु भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबार देखि नेपालगञ्जमा आयोजना गरेको दुई दिने बाँके रोजगार मेलाको नेपालगन्ज उपमहानगरपाालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओेलीले स्वागत मन्तव्य दिएको उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मेलाको सफलताको कामना गरेका थिए ।
Advertisement
मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो ।
संघका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटका अनुसार शुक्रबार जिल्लाका गाउँगाउँबाट आएका करिब ६ सय बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका थिए । आयोजकले रोेजगार खोज्ने झन्डै तीन सय जनालाई फारम भर्न लगाएर रोेजगारदाताका ४० वटा स्टलमा पठाएका थिए । रोेजगारदाताको स्टलमा पनि झण्डै तीन सय जनाले फर्म भरेका थिए । शुक्रबार उद्योगका विषयमा संवाद गरिएको थियो । रोजगार मेलामा शनिबार कृषि र जडिबुटीको एउटा र पर्यटनको अर्को संवाद हुनेछ । संवाद लगत्तै रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्ति बीच अन्तर संवाद हुनेछ ।
Advertisement
संघका अध्यक्ष टंकबहादुर धामी बाँके रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्यामा अभियान सञ्चालन गर्ने बताउँछन् ।
संघले रोजगार मेलामा फर्म भरेका ब्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने योजना सुनाउँछन् । जसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आगामी दिनमा सहकार्य गर्ने संघको योजना छ ।
टिप्पणीहरू