३० भदौं, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताए ।
Advertisement
मन्त्री चौधरीले भने, ’पहिलोपल्ट कणर्ाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कणर्ाली प्रदेशका मुख्यमन्त्री,खेलकुद मन्त्री सबैको जोश-जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ’
रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए । खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उनको भनाइ छ ।
Advertisement
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औं राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए । मन्त्री चौधरीका अनुसार ११औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उनले बताए । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौंमा हुने मन्त्री चौधरीले बताए ।
Advertisement
मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए । अहिले संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उनले सुनाए ।
’खेलकुदमा सबैभन्दा कम बजेट विनियोजन हुन्छ । २१ वटा मन्त्रालयमध्ये सबैभन्दा कम बजेट यसैमा छ । त्यसकारण तालिम सञ्चालन गर्न,खेलाडीलाई तलब दिन त्यति सजिलो छैन । विभिन्न संघहरुले आफ्नै किसिमको तलब निर्धारण गरेर दिइराखेका छन्,’ उनले भने ।
Advertisement
मन्त्री चौधरीले मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताए । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुने उनले बताए ।
वर्तमान सरकारको पहिलो निणर्य कीर्तिपूर रंगशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निणर्य गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेको उनले बताए ।
उनले कीर्तिपुर क्रिकेट रंगशालाको कामको थप प्रगतिका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए । ’३ सय दिनमा खेलकुद मन्त्रालय अथवा राष्ट्रिय खेलकुद परिषद्बाट सम्भव नदेखिएको हुनाले कहाँबाट छिटो काम हुन्छ भनेर हामीले त्यो रकम सहरी विकास मन्त्रालयमा ह्याण्डओभर गरेका छौं । उहाँहरु कामको नजिक-नजिकमा हुनुहुन्छ । टेन्डर गर्नै बाँकी छ । तीन पटकमा काम गर्नुपर्ने शर्तमा टेन्डर हुँदैछ ।’ उनले भने ।
टिप्पणीहरू