१० जेठ, बाँके । १८ वर्षीया कृपा सोनी आमाबुबा भएर पनि बेसहारा बनेकी छन । प्रेम सम्बन्धबाट जन्मिएकी उनले बुबाआमाको काख र साथ कहिले देख्न पाइनन् । सुर्खेत निवासी उनलाई बुबाले छोरी नै स्वीकारेका छैनन् ।
११ वर्षको उमेरमा आमाले छोडेर दोस्रो बिहे गरेर घरजम गरेपछि आमा-बुवाको सहारा नपाएपछि आफन्तको घरमा नै हुर्किएकी कृपा आमा बुबा हुदाँ हुदैँ पनि अनागरिक बनेकी छन । उनी यति बेला राज्यले दिने अधिकार प्राप्तिका लागि कानुनी लडाई लडिरहेकी छन ।
Advertisement
कृपाले सुर्खेत जिल्ला अदालतमा नाता प्रमाणितका लागि कुवेर सोनी विरुद्ध मुद्दा पनि दर्ता गरेकी छन् । आमाले बुवाको पहिचान खुलाएपछि आफूले जन्मदर्ता गराउन पाएको उनले पत्रकार सम्मेलनमा जानकारी गराइन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ ले जारी गरेको जन्मदर्तामा बुबाको नाम कुवेर सोनी र आमाको नाम सोनु नेपाली उल्लेख छ ।
उनी विगतमा आफ्नो बुबा संग समेत भेट्दै आएकी जिकिर गरेकी छन । उनी आफु १८ वर्ष हुदैँगर्दा बुबा संग भेट्दै आएकोमा नागरिकताको विषयमा विवाद चर्किदै गएपछि हाल केही समय यता भेट नभएको बताइन ।
Advertisement
उनले भनिन्, ‘मेरो छोरी नै हैन भन्नुहुन्छ । विगत ६ वर्ष अगाडि देखि भेट्दै आउनुभएको हो । घरी बबई घरी रेष्टुरेन्टहरुमा मेरो छोरी हो, म नागरिकता बनाईदिन्छु, राम्रो संग पढ् भनेर भन्नुभएको र अहिले आएर मेरो छोरी हैनौं म नागरिकता बनाउदैँन भन्नुहुन्छ ।’
कृपाले थप भनिन्, ‘मलाई बुवाको धन-सम्पत्ति केही चाहिएको हैन,’ कृपाले भनिन्, ‘मलाई मेरो पहिचान दिए पुग्छ, मलाई चाहिएको त्यत्ति हो ।’
नेपालगञ्जमा फर्निचरको व्यवसाय भएका कुवेर सोनीले कृपा सोनी आफ्नो छोरी नभएको दावी गर्दै आएका छन ।
Advertisement
उनले कृपा आफ्नी छोरी नभएको दाबी गरेका छन । उनले भने, ‘मैले बिहे नै गरेको छैन, कसरी मेरी छोरी हुन्छे ? अहिलेसम्म हराएकी छोरी १८ वर्षपछि कसरी टुप्लुक्क आइपुगी ? यो सब मेरो सम्पत्ति देखेर फसाउन गरिएको प्रपञ्च मात्रै हो ।’ कुबेर सोनीका अनुसार कृपाको अरु पनि जन्मदर्ताको प्रमाणपत्र छन जसमा बुबाको नाम फरक छ ।
उनले यो सबै आफ्नो देखेर फसाउन गरिएको प्रपञ्च मात्रै रहेको जिकिर गर्दै आएका छन ।
Advertisement
जन्मदर्ता र अस्पतालको प्रमाण पत्र भएपनि उनले नागरिकता पाउन सकेकी छैनन् । कृपाका अनुसार उनकी आमा दुई वर्ष नेपालगञ्ज बसेर सुर्खेत गएकी हुन् । आफू ११ वर्षको हुँदा आमाले दोस्रो विवाह गरेको कृपाको भनाइ छ । सानीआमासँग नागरिकता माग्न जिल्ला प्रशासन कार्यालय, बाँके आएकी उनी निराश बनेकी हुन् । नागरिकताका लागि वडा कार्यालयले सिडियो कार्यालयलाई सिफारिस गर्नुपर्छ ।
तर, आमाबुवाको विवाह दर्ता नहुँदा र बुबाले आफ्नै छोरी भनेर सनाखत नगर्दा उनी नागरिकता पाउनबाट वञ्चित भएकी छन् ।
कुवेर सोनीले कृपालाई छोरी स्वीकार गर्न नमानेपछि उनी अहिले बुवा खोज्दै नेपालगञ्ज आइपुगेकी हुन् । कृपा सोनी न्यायका लागि नेपालगञ्जमा सडक संघर्ष गर्ने तयारीमा समेत रहेकी छन । कक्षा ८ मा पढ्दै गरेकी उनमा मानसिक समस्या देखा परेको छ ।
बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलनमा उनले शुक्रबार साँझ ४ बजे धम्बोझी चोकमा आन्दोलन गर्ने बताएकी छन । कृपाले आफुलाई आमाबुबा हुदाँहुदैँ अनागरिक बनाउन नपाउने र नागरिकता पाउने आफ्नो अधिकार रहेको बताउदैँ आन्दोलनमा उत्रिने बताएकी छन ।
उनले भनिन्, ‘नेपाल संविधान २०७२ को धारा (३९) मा बाल अधिकार प्रष्ट पारेर उल्लेख गरिएको छ ।’
उनले आफु न्याय नपाए सम्म आन्लोलित रह्ने बताएकी छन । यस आन्दोलनमा विभिन्न नागरिकले आफुलाई साथ दिने र विभिन्न संघसंस्थालाई समन्वयका लागि पत्र समेत पठाईसकेको जानकारी गराइन ।
टिप्पणीहरू