३१ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज क्षेत्रका ४ वटा उद्योगहरुलाई कार्वाही गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा नेपालगञ्ज क्षेत्रका ६ वटा व्यवसायहरूको स्थलगत अनुगमन गरिएको थियो ।
अनुगमन क्रममा जय बागेश्वरी ड्रिकिङग् वाटरलाई तत्काल २० हजार जरिवाना गरी प्रयोग नहुने अवस्थामा रहेको २३ वटा जार नष्ट गरी उद्योग सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
Advertisement
जय श्रीराम आईस उद्योगलाई बिल विजक बिना कारोबार गरेकोमा २० हजार जरिवाना गरी सरसफाई नगरेसम्म उद्योग सञ्चालनमा रोक लगाईएको सहायक जिल्ला अधिकारी एवं सूचना अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।
यस्तै, शान्ति खाद्य उद्योगले इजाजत नलिई उद्योग सञ्चालन गरेकोले ५० हजार जरिवाना गरी खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ । शाह डिष्ट्रिब्युटर्स एण्ड सप्लायर्सले मूल्य सूची नराखी कारोबार गरेकोले एक लाख जरिवाना गरिएको हो ।
Advertisement
देउभर राईस मिल र हितेश खाद्य उद्योगको अबस्था सामान्य रहेको पाईएको सूचना अधिकारी माझीले जानकारी गराए ।
टिप्पणीहरू