१७ चैत्र, बाँके । कवि विपी अस्तुको अध्यक्षतामा मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ ।
शनिबार नेपालगञ्जमा भएको समाजको पाँचौ साधारण सभाले अस्तुको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
Advertisement
सभाले अध्यक्षमा अस्तुसहित सदस्यमा अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई चयन गरेको निर्वाचन अधिकृत देवीदत्त देवकोटाले जानकारी दिए । समाजको विधानमा साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था रहेको छ ।
मध्यपश्चिम स्रष्टा समाजले नेपालगञ्जको इतिहास समेटिएको पुस्तक सद्भावको सहर नेपालगञ्ज, प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ पीडाको सगरमाथा, सनत रेग्मी सृजन सन्दर्भ, भोजराज शर्मा नादिरको गजल संग्रह अलिअमुर्छन्ना अलिअलि होस लगायत दर्जनबढी पुस्तक प्रकाशन गरेको छ भने सृजना साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको छ । समाजले नेपालगञ्जमा कविताको एकल वाचन काव्यगन्ज र पुस्तक तथा स्रष्टाहरुसँग साक्षात्कार गर्ने कार्यक्रम विमर्श विन्दु पनि आयोजना गर्ने गर्दछ ।
अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा। मधुसुदन गिरीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
Advertisement
डा. गिरीले मध्यपश्चिम स्रष्टा समाजले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नयाँ प्रतिभालाई खोजी गर्ने र योगदान दिइसकेका स्रष्टाहरुलाई यथोचित सम्मान गर्न सुझाव दिए । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले मध्यपश्चिम स्रष्टा समाजले गरेका प्रकाशनहरु अहिले सन्दर्भ सामग्री बनिरहेको उदाहरण दिँदै आगामी दिनमा थप उपयोेगी प्रकाशनहरु गर्न सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा।डा। कृष्णप्रसाद घिमिरे, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु महानन्द ढकाल र शशीराम कार्कीका साथै बाँके बर्दियाका साहित्यिक संस्थाका प्रतिनिधि एवं साहित्यकारहरुले सुभकामना व्यक्त गरेका थिए ।
टिप्पणीहरू