२७ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको छ ।
प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा आजबाट पूर्ण निषेध गरिएको महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।
Advertisement
सूर्ति सेवनको निमित्त बनाईएको वा उत्पादन गरिएको चुरोट, विडि, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखे रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानीकारक भएकोले उक्त वस्तु माथि निषेध लगाइएको हो ।
काठमाडौँ महानगरपालिका जनस्वास्थय ऐन २०८० को दफा ४२ ले सूर्ति तथा मदिराजन्य पदार्थ विक्री वितरणामा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालाकाहरुलाई विक्री वितरण गराउन नपाईने, सार्वजनिक स्थलहरुको चारकिल्ला तोकी सो वरपर सूर्तिजन्य र जंक फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानूनी व्यवस्था रहेको रहेको प्रमुख पौडेलले बताए ।
Advertisement
कानूनी व्यवस्था हुदाँ हुँदै हालसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मदिरा, सूर्तिजन्य, पदार्थहरु विक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भुमि प्रदुषित हुने, ढल जामहुने, फोहोर मैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकुलप्रभाव परेको महानगरले जनाएको छ ।
बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।
Advertisement
काठमाडौँ महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायमशालाहरु, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरु लगायतका सार्वजनिक स्थलहरुमा धुम्रपान, चुरोट, विडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनि, गुट्खा, सूर्ति वा यस्तै प्रकारका सूर्तिजन्य पदार्थ लाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको छ ।
महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट सुर्ती खान रोक लगाएको थियो । यो नियम अहिलेसम्म कार्यान्वयन भएको छैन । महानगरले सार्वजनिक ठाउँ, मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । नियमको अटेर गर्नेलाई कारबाही हुने महानगरले जनाएको छ ।
टिप्पणीहरू