९ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) को दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ मा पार्टीका १० जना केन्द्रीय नेताहरू स्वास्थ्य अवस्था, विरामी लगायतका विविध कारण सहभागी नभएपछि उनीहरूलाई तोकिएको जिम्मेवारीमा पार्टीले अन्य कमरेडहरूलाई खटाएको छ ।
अभियानमा सहभागी हुन विविध कारण असमर्थ कमरेडहरूलाई माग बमोजिम विदा दिई पार्टीले अन्य कमरेडहरूलाई ती पालिकामा खटाएको हो । अभियानमा सहभागी हुन असमर्थ कमरेडहरूमा पोलिटव्यूरो सदस्य दलबहादुर राना, सीता गिरी ओली, केन्द्रीय सदस्यहरू उमा कोइराला, डम्बरसिंह सम्वाहाम्फे, तारादेवी गुरूङ, तारादेवी राई, नैनकला ओझा, पार्वती रावल, रामलाल साह, सरस्वती बस्नेत रहेको पार्टीले जनाएको हो ।
Advertisement
पार्टीले प्रदेश-१ मा ‘मिसन ग्रासरुट’ अभियानमा जिम्मेवारी तोकिएका नैनकला ओझाको ठाउँमा सुवोधराज प्याकुरेल, तारादेवी राईको सट्टामा जसमाया गजमेर , रामलाल शाहको ठाउँमा विमल कार्की, तारा गुरूङको सट्टामा शैलेस लामा र केही समयका लागि विदा लिएका विनोद ढकाललाई जिम्मवारी दिइएको पालिकामा घनश्याम खतिवडालाई खटाइएको छ । त्यस्तै, धनकुटामा मानवीर राईलाई जिम्मेवारी तोकिएको पालिकामा पीके राईलाई खटाइएको छ ।
यस्तै, कतिपय कमरेडहरूको जिम्मेवारी एकापसमा सट्टापट्टा भएको छ । जिम्मेवारी सट्टापट्टा गर्नेहरूमा देवेन्द्र दाहाल र रोमनाथ ओली तथा जितु गौतम र श्रीप्रसाद जवेगु रहेका पार्टीको श्रोतले जनाएको हो । विदामा बसेका अन्य प्रदेशका कमरेडहरूका ठाउँमा पार्टीले छिट्टै वैकल्पिक व्यवस्था गर्ने छ ।
Advertisement
केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी छाडेकाले अभियानको जिम्मेवारीबाट मुक्त भएका हुन ।

















टिप्पणीहरू