३ साउन, काठमाडौँ । बाँकेको नेपालगञ्जमा रहेका व्यवसायिक प्रतिष्ठानहरुमा बाल श्रमिक रहे/नरहेको अनुगमन थालिएको छ ।
पछिल्लो समय नेपालगञ्जका विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा बाल श्रमिक राखिएको गुनासो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले अनुगमन सुरु गरेको हो ।
Advertisement
बालमैत्री स्थानीय शासन अवलम्बन गरेको उपमहानगरपालिकाले नेपालगञ्जका विभिन्न क्षेत्रमा श्रम कार्यमा बालबालिकाहरुको प्रयोग गरिएको गुनासो आइरहेकाले अनुगमन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी पवित्रा कुमारी पुरीले जानकारी गराइन ।
बजारमा रहेका होटल, मिठाई पसल, बार, दोहोरी साँझ भाडामा रिक्सा चलाउने क्षेत्र, ग्यारेज, सार्वजनिक यातायात, बाल भरिया (सीमा क्षेत्र, फनिचर पसल, घरेलु कामदार, छापाखाना) मा छ्यापछ्याप्ती बढेको, रोजगारदाताहरूबाट खुलेआम बालश्रमिक राखिएको देखिएको छ । बाल श्रम नियमन ऐन–२०५६ बिरुद्ध गएर व्यवसायिक प्रतिष्ठानहरुमा बाल श्रमिक देखिएकोले उपमहानगरले जोखिम क्षेत्रको छड्के स्थलगत अनुगमनको कार्यतालिका नै बनाएर बजार अनुगमन थालेको जनाएको छ ।
Advertisement
नेपालगञ्ज–२ को वडा कार्यालय, सिविन नेपाल र उपमहानगरपालिकाको रोजगार शाखा, बाल कल्याण अधिकारी तथा महिला, बाल बालिका तथ्य जेष्ठ नागरिक शाखाको संयुक्त टोलीले धम्बोझी, घरवारीटोल क्षेत्रमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा २ वटा मिठाई पसलमा ३ जना बालक श्रमिक राखिएको पाइएको छ ।
अनुगमन टोलीले पसलमा भेटिएका बालकको पारिवारिक पुनरमिलन गरी सात दिनमा उक्त विवरण वडा कार्यालयमा बुझाउन निर्देशन दिएको छ । साथै टोलीले निर्देशन पालना नभए श्रम कार्यालयमा रोजगारदाता विरुद्ध ऐन अनुसार उजुरी दिने तयारी गरेको अनुगमन टोलीकी प्रतिनिधी तथा उपमहानगरपालिकाको बाल श्रम विरुद्धको स्थानीय समन्वय समितिका सदस्य सचिव एवं बाल कल्याण अधिकारी पुरीले बताइन ।


















टिप्पणीहरू