१० बैशाख, रुपन्देही । रुपन्देहीको मायाँदेवी गाउँपालिका–६ वेथरी स्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रम बीच अस्पताल भवनको शिलान्यास गरेका हुन ।
Advertisement
क्यान्सर रोगको उपचार तथा सेवा प्रवाह गर्ने लक्ष्यका साथ वेथरीमा अस्पताल निर्माण थालिएको हो । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल एक सय शैयाको हुनेछ । निर्माण कार्य करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।
Advertisement
शिलान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको मुख्यमन्त्रीले बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जानकारी समेत गराए ।
Advertisement
पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उनको भनाइ छ । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
‘प्रदेश स्थापना भएदेखि नै मैले क्यान्सर रोगका बिरामीलाई सहयोगको विषयमा निरन्तर संसदमा छलफल गरेँ । संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि नै उपचार सहयोग कार्यक्रम सुरु गर्न सफल भयौं’ उनले भने, ‘म पनि लामो समय क्यान्सरसँग जुध्दै आएको व्यक्ति हुँ । अहिले क्यान्सरलाई जितेर तपाईंहरूको माझमा छु । रोगले च्यापेको बेलामा के के भोग्नुपर्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । हामी बिरामीको पक्षमा काम गर्छौं र गरिरहेका छौं ।’
Advertisement
उनले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
टिप्पणीहरू