२३ चैत्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गएराति पक्राउ परेपछि पार्टीको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।
शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको फैसलालाई कानुनको एक तहको निर्णयका रुपमा बुझ्दै रास्वपाले शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा गर्न लागेको जानयात्रा सभालाई सफल बनाउने निर्णय समेत गरेको छ ।
Advertisement
रास्वपाले अदालतको फैसलापछि प्रहरीले घरभित्र पसेरै पूर्जी लेख्ने अनौठो अभ्यास गरेको भन्दै यो गैरकानुनी भएको ठहर गर्दै त्यस विरुद्ध भत्सर्ना गर्ने निर्णय गरेको छ ।
रास्वपा सचिवालय बैठकका निर्णय यस प्रकारका छन् :
१. उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।
Advertisement
२. पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर(संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।
३. आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।
Advertisement
४. पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।
टिप्पणीहरू