Close sidebar
  • ताजा
  • लोकप्रिय
  • के-खानेकुराले तपाईको यौन जीवन सुधार्न सक्छ ?

    प्रतिकात्मक तस्बिर

    १७ चैत्र, काठमाडौँ । सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन् । तर के-कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ ?

    जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छा सँग सम्बन्धित तत्व पनि हुन्छन् ।

    Advertisement

    तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ । यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ ।

    के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ ?

    Advertisement

    शायद इतिहासकै सबभन्दा प्रख्यात प्रेमी क्यासानोभाले बिहानी नास्तामा ५० वटा ओयस्टर खान्थे भनिन्छ । तर ओयस्टर सेवन र यौनशक्तिबारे कुनै प्रमाणित सम्बन्ध पाइँदैन । त्यसोभए यो हल्ला कहाँबाट चल्यो त ?

    किम्वदन्ती अनुसार ग्रीक प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति सेतो फिँजबाट भएको थियो र उनी समुन्द्रबाट निस्किएकी थिइन् । त्यसैले समुन्द्री खानेकुरा यौनवर्द्धक मानिन्छन् ।

    Advertisement

    तर जे होस् ओयस्टर खान रुचाउनेहरूका लागि खुसीको खबर के छ भने यी महँगा मोलस्क जातीका प्राणीहरूमा प्रशस्त जींक तत्व पाइन्छ जुन् टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन् ।

    साथै अनुसन्धानहरूका अनुसार जींकले पुरुषको नपुंसकताको उपचार गर्न तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पुर्‍याउँछ भन्ने देखाएका छन् ।

    Advertisement

    जींकका अन्य स्रोतहरूमा शेलफिस, रातो मासु, बियाँ (उदाहरणका लागि फर्सीको बियाँ वा तील), काजु, हाडे बदाम, चना, राजमा, दूध तथा चीज पर्छन् ।

    अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा ‘प्रेम रसायन’ फिनाइलइथाइलामाइन (पीइए) हुन्छ ।

    कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि निष्कासन गराउँछ ।

    साथै, मस्तिष्कको आनन्दसम्बन्धी केन्द्रलाई पनि यसले सक्रिय बनाउँछ ।

    तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ ।

    कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ जसले रक्तसञ्चार तथा सेरोटोनीनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ ।

    त्यसोभए कहिलेदेखि चकलेट र यौनबीचको सम्बन्ध गाँसियो ? शायद १६ औँ शताब्दीतिर हुनुपर्छ ।

    हेर्नान कोर्टेस १६ शताब्दीका एक स्पेनी कंक्विस्टेडर (अमेरिकी महादेशका भूभाग कब्जा गर्न खटाइएका लडाकू) थिए जो माया तथा एज्टेक साम्राज्यहरूमा पुगे ।

    हाल मेक्सिको रहेको सम्पूणर् जसो भूभाग कब्जा गरेर उनले क्यास्टिल साम्राज्यको अधिनमा ल्याए ।

    चकलेटको सम्पर्कमा आउने पहिलो युरोपेली उनै भएको ठानिन्छ ।

    उनले स्पेनका राजालाई लेखेको पत्रमा आफूले स्थानीय माया समुदायका मानिसहरूले कोकाको झोल खाने गरेको देखेको र त्यसले ’प्रतिरोध क्षमता बढाइदिने र थकान हटाउने’ उल्लेख गरेका छन् ।

    तर निश्चित रूपमै चकलेटको प्रयोग यौनवर्द्धक ओखतीको रूपमा भएको प्रमाण भने छैन ।

    ट्रिप्टोफानका अन्य स्रोतहरूः सालमन माछा, अण्डा, कुखुरा, पालुङ्गोको साग, बियाँ, काजुकिसमिस तथा भटमास ।

    पिरो खुर्सानीमा क्याप्साइसीन हुन्छ जसले इन्डर्फिन तत्व (उही आनन्द अनुभूति गराउने तत्व) को निष्कासन सक्रिय पार्छ ।

    खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिन्छ ।

    यौनक्रियाका बेला पनि त्यस्तै हुन्छ ।
    रक्सीले लाज वा सङ्कोच कम गराइदिन्छ, तर म्याक्वेथले लठ्ठिएको बेलामा भनेको जस्तै यसले ’इच्छा जगाउँछ तर प्रदर्शन खुम्च्याउँछ ।’

    महिला तथा पुरुष दुवैमा धेरै रक्सी पिउनाले संवेदनशीलता हराउँदै जान्छ ।

    लामो समय सम्म रक्सी सेवन गरिराखे त्यसले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याइदिन सक्छ ।

    साथै रक्सीको दुर्गन्धले यौन उत्तेजना पक्कै ल्याउँदैन ।

    यौनवर्द्धक वस्तुलाई खासगरि तीन वर्गमा बाँड्न सकिन्छ – यौनशक्ति, यौनइच्छा तथा यौन आनन्द बढाउने खालका ।

    यिनले मानिसमा सफल काम गरेको भनेर नाप्न कठिन हुनाका कारण कुनैको पनि वैज्ञानिक प्रमाण फेला पर्न सकेको छैन ।

    वास्तवमा हालसम्म एउटा मात्र यौनवर्द्धक वस्तुको प्रमाण फेला परेको छ ।

    त्यो भनेको पाकेको वा कुहिएको फलफूलको गन्ध हो र त्यसले फ्रुटफ्लाइ नामक जीवमा यौनवर्द्धकको काम गर्छ ।

    यौनस्वास्थ्य विज्ञ डाक्टर क्रिचमान भन्छन् मानिसहरूले यौनवर्द्धक भनेर खान्छन् किनभने उनीहरूले त्यसले काम गर्छ भनेर विश्वास गर्छन् । र, यदि कसैमा केहीले काम गर्‍यो भने त्यसमा कारण किन खोजिरहनु ?

    यौनवर्द्धकको रूपमा परिचित कैयौँ खानेकुरा वास्तवमै स्वस्थ खानेकुरा हुन् ।

    तर कुनै बिरुवाबाट निकालिएको वा कुनै वस्तुबारे स्वास्थसुरक्षाको आँकडा प्राप्त छैन भने तिनबाट जोगिनु नै बेस हुनेछ ।

    चामत्कारिक ओखती भनेर दाबी गरिएका चीजबाट पनि टाढै रहनु राम्रो ।

    – बीबीसीबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »