१५ फाल्गुन, बाँके । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
स्वीकृत निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
Advertisement
सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी गराए ।
आज स्वीकृत गरिएको कार्यतालिका अनुसार चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
निर्वाचन कार्यक्रम अनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ । साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ ।
प्रवक्ता भुसाल अनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
टिप्पणीहरू