Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाँसबारीको विवादित जग्गा फिर्ता गर्ने प्रक्रिया शुरु

    २६ माघ, काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
    भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रा.लि.लाई पत्राचार गर्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा आउन भनेको हो ।

    हाल चाँद वाग रेसिडेन्सी प्रा.लि. सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई सम्बोधन गरिएका उक्त पत्रमा पत्र प्राप्त भएको मितिले २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

    Advertisement

    यो प्रकरणमा चौधरी ग्रुपका सदस्य अरुण चौधरी पक्राउ परेका थिए । उनी काठमाडौँ जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका थिए । तर, केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा अनुसन्धान जारी राखेको छ ।

    ‘ज.ध. च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको जि. काठमाडौँ नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा श्री नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको पत्र संख्या ०८०र०८१ च।नं। ८४५९ मिति २०८०र१० र २२ को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी ल्याउन मिति २०८० र १० र २४ को आदेश बमोजिम त्यस प्रा.लि.का नाममा यो पत्र लेख्ने कार्य भएको छ’, मालपोत अधिकृत बोगराज शर्मा कट्टेलको हस्ताक्षरित पत्रमा भनिएको छ ।

    Advertisement

    पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिन भित्र आफै वा बारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित नभएमा कानुन बमोजिम भइजाने उल्लेख गरिएको छ ।

    कम्पनी रजिस्ट्रारको कार्यालयले च्याम्पियन फूटवेयरलाई दिएको प्रमाणपत्रमा विनोद चौधरी, लुनकरणदास चौधरी, अरुण चौधरी लगायत ७ जना सञ्चालक थिए ।

    Advertisement

    सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा सरकारले भने जग्गा फिर्ता गराएर मुद्दा कमजोर बनाउने र उन्मुक्ति दिने तयारी थालेको हो । यसअघि पक्राउ परेका अरुण चौधरीले बयानका क्रममा जग्गा फिर्ता दिन तयार रहेको बताएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »