२ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको कब्रस्तानको आय व्याय माग गर्दै कब्रस्तान संघर्ष समितिले संयुक्त रुपमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
उक्त कब्रस्तानको संचालक समितिले मनोपरी ढंगले कब्रस्तान संचालन र व्यवस्थापन गर्दै आएको बताउदैँ स्थानीय मुस्लिम अगुवा र संघर्ष समितिका पदाधिकारीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन ।
Advertisement
उक्त ज्ञापनपत्रमा लेखिएको छ, ‘नेपाल मुस्लिम समाज सेवा संघ (कब्रस्तान) संचालक समिति, नेपालगञ्जले आर्थिक वर्ष ०६२।६३ मा लेखा परिक्षण गराएको थियो । तर त्यस पश्चात आज आर्थिक वर्ष २०८०।८१ मा आइपुग्दा यस अन्तरालमा कुनैपनि लेखा परिक्षण भएको वा हिसाबको पारदर्शिता नदेखिएकोले आवश्यक छानविन गरिदिनहुन अनुरोध गर्दछौं ।’
कब्रस्तान संघर्ष समितिका सहसंयोजक रिजवान अलि शेषका अनुसार करिब ९-१० वटा वडाका मुस्लिम समाजको आस्था बोकेको उक्त कब्रस्तान संग जोडिएको मुख्य सडकमा रहेका सटरहरुको भाडा देखि लिएर चिहान खने बापतको शुल्क र उठेका चन्दाको विषयमा कुनैपनि हिसाब किताब देखिदैन । विधानमा समेत किर्ते गरिएको जिल्ला प्रशासन कार्यालयमा यस अघि नै मुद्दा दायर भईसकेको छ ।
Advertisement
१७ वर्षको अन्तरालमा साधारणसभा गर्न आवश्यक नठानी समितिका पदाधिकारीहरुले मनमर्जी ढंगले चलाएको ठहर गर्दै प्रमुख जिल्ला अधिकारीलाई आवश्यक छानविन सहित दोषीलाई कार्वाही गर्न दवाव दिइएको छ ।
उक्त संस्था जिल्ला प्रशासन कार्यालयमा के कति ? नविकरण भएकाे प्रश्न समेत गरेका छन ।
टिप्पणीहरू