Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रपति समक्ष आयोगद्वारा प्रतिवेदन पेश – विस्तृतमा

    ५ चैत्र, काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन पेश गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेस गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका सम्बन्धमा सम्पादन गरिएका काम र निर्वाचन परिणामको सारसंक्षेप प्रस्तुत गरेका हुन ।

    Advertisement

    निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका १६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १६५ जना उम्मेदवार निर्वाचित भएका छन् ।

    त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका ११० जना उम्मेदवार निर्वाचित भएका छन् । कुल २७५ जना सदस्य रहेको प्रतिनिधि सभामा पुरुष १७९ र महिला ९६ निर्वाचित भएका हुन । समावेशी विवरण अनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएका हुन ।

    Advertisement

    एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा भाग लिने प्रयोजनका लागि १२ राजनीतिक दलले ५ वटा र १०२ राजनीतिक दलले आ–आफ्नो चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने गरी जम्मा ११४ दलले १०७ वटा चुनाव चिन्हमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गराएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा चुनाव चिन्हमा ६५ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिन्हमा ६३ राजनीतिक दल निर्वाचनमा सहभागी थिए।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला ३८८, पुरुष ३०१७ र अन्यबाट १ गरी कुल ३४०६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १७७२ र पुरुष १३६३ गरी ३१३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।

    Advertisement

    निर्वाचनका लागि महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ०३ हजार ६८९ मतदाता कायम रहेका थिए। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा १ लाख ८६ हजार १४२ मतदाता रहेका थिए। अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएकोमा १ करोड ५ लाख ५९ हजार १७ (९४.५५%) मत सदर भएकोमा ५.४५ प्रतिशत मत बदर भएको छ । यस्तै, समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ८१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएकोमा ३.९५ प्रतिशत मत बदर भएको छ। दुबै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मतको प्रतिशत ४.७ रहको छ।

    Advertisement

    निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको र सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको छ। ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू बाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो। निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ९९६ रुपैयाँ खर्च भएको छ। खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोगले जानकारी गराएको छ ।

    निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले प्रर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकोमा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए। राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »