Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकारः मुख्यमन्त्री आचार्य

    २७ साउन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेण्डा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङको लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्री आचार्यले सडक निर्माणका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन, रुट परमिट दिनु अघि सवारीसाधनको प्राविधिक अवस्था जाँच, ट्राफिक नियमको कडाइका साथ पालना, र मानवीय लापरबाही नियन्त्रण सडक सुरक्षा सुधारका आधारभूत कामहरु अनिवार्य रुपमा गर्नुपर्ने बताए । ‘तराई, पहाड र हिमालको भूगोल अनुसार सडक मापदण्ड छुट्टा छुट्टै छन्, तिनलाई अनिवार्य पालन गर्नुपर्छ’ उनले भने ।

    Advertisement

    उनले लागू औषध र मदिरा सेवन गरेर सवारी चलाउने, चाडपर्वमा सडक छेक्ने, डोरी टाँगेर यातायात अवरुद्ध गर्ने जस्ता व्यवहार दुर्घटनाका कारण भएको भन्दै यसलाई रोक्न जनचेतना अभियान आवश्यक भएको उल्लेख गरेका छन् । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

    भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुर्घटनाका कारण पहिचान गरी समाधानका योजना बनाइनु जरुरी रहेको बताए । प्रदेशले सडक गुरुयोजना निर्माण गरेको र त्यसले सुरक्षित सडक कायम गर्न भूमिका खेल्ने उनले बताए ।

    Advertisement

    प्रमुख सचिव बावुराम अधिकारीले सडकको अवस्था सुधारदेखि चालकलाई जिम्मेवार बनाउन र जनचेतना अभिवृद्धिलाई अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् । भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले सुरक्षित सडक निर्माणका लागि प्रदेश सरकार जिम्मेवार भएर अघि बढिरहेको जानकारी दिए ।

    उद्घाटन कार्यक्रम सिनियर डिभिजनल इञ्जिनियर शंकर सिंह धामीको स्वागत मन्तव्यबाट भएको हो । सहजीकरण सुभ खनालले गरेका थिए भने राष्ट्रिय सडक सुरक्षा परिषद्को टेक्निकल एडभाइजर सरोजकुमार प्रधानले प्राविधिक प्रस्तुति दिएका थिए ।

    Advertisement

    लुम्बिनी प्रदेशको अवस्था
    गत तीन वर्षमा लुम्बिनी प्रदेशमा मात्र १ हजार ९ सय ४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ५ सय ६ जनाको मृत्यु, ३ हजार ४ सय ७९ दुर्घटना र ५ हजार ६ सय ९१ घाइते दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा मृत्यु संख्या अझै बढी ५ सय ३७ थियो ।

    विशेषज्ञका अनुसार लुम्बिनीमा दुर्घटनाको सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल दुर्घटनाले ओगटेको छ । तीव्र गति, चालकको लापरबाही र कमजोर सडक अवस्था यसका प्रमुख कारणका रूपमा देखिएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    11

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »