Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आचारसंहिता पालना र मतदाता शिक्षामा सघाउने निजी क्षेत्रको प्रतिबद्धता

    १४ माघ, काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी आन्दोलन पछिको असहज अवस्थामा रहेको मुलुकलाई लयमा फर्काउन निर्वाचन नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

    निर्वाचन आचारसंहिता कार्यान्वयन लगायतका विषयमा निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख भण्डारीले मुलुकलाई लयमा फर्काउन निर्वाचन हुनुपर्ने र सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

    Advertisement

    निजी क्षेत्रका प्रतिनिधिको धारणापछि कार्यवाहक प्रमुख भण्डारीले कसैले पनि निषेधको राजनीति गर्न नहुने बताए । उनले निर्वाचन आचारसंहिता परिपालनाका लागि आयोग प्रतिबद्ध रहेको जानकारी दिए ।

    भण्डारीले निर्वाचनमा सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति रहेको र अहिले ३७ प्रकारका सामग्री स्थानीयस्तरकै रहेको पनि जानकारी गराएका छन् ।

    Advertisement

    आयोगले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको जनाउँदै उनले निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरिएको बताए । अन्य सामग्री पुरानै पुनः प्रयोगमा ल्याइएको समेत जानकारी गराए ।

    निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालनाका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

    Advertisement

    कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन शम्सेर ज.ब.रा तथा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईसहितको उपस्थिति थियो ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन अनुगमनमा कडाइ गर्नुपर्ने र उल्लङ्घनमा तत्काल कारबाहीको व्यवस्था गर्नुपर्ने सुझाव दिए । आचारसंहिता पालना र मतदाता शिक्षाका क्षेत्रमा सहयोगका लागि आफूहरू प्रतिबद्ध रहेको पनि अग्रवालले बताए ।

    Advertisement

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जनाका लागि नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व आवश्यक भएकाले निर्वाचन सम्पन्न भई स्थिर सरकार आवश्यक भएको धारणा राखेका छन् ।

    उम्मेदवारको खर्च विवरण बैङ्किङ प्रणालीमा दाखिला गर्नुपर्ने व्यवस्था उचित रहेको पनि श्रेष्ठको भनाई थियो। महासंघ केन्द्र र सबै शाखाबाट निर्वाचन आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए । मतदाता शिक्षामा आयोगसँग सहकार्यको प्रतिबद्धता समेत उनले बताए ।

    होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निर्वाचनको समयमा नेपाल भित्रिने पर्यटकलाई होटल तथा गन्तव्यसम्म पुर्‍याउने सहज वातावरणको सहजीकरणको आग्रह गरे ।

    रेष्टुरेन्ट तथा बार एसोसिएसन अफ नेपालका अध्यक्ष संघर्ष विष्टले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विषयमा आयोगलाई आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए ।

    ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइले निर्वाचनको समयमा नेपाल आउने पर्यटकलाई व्यवस्थापन गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने समयमा सहजीकरण गरिदिन आग्रह गरे ।

    साल्ट ट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग भएको र समुदायलाई असर हुने गरी ध्वनि प्रदूषण भएको विषयमा आयोगको ध्यानाकर्षण गराए । निर्वाचन आचारसंहिता पालनालगायत निर्वाचनसँग सम्बन्धित विषयमा सम्पूर्ण जिल्ला कार्यालय र वेबसाइट मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत श्रेष्ठले जनाए ।

    नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम ओझाले सातै प्रदेश र जिल्लामा निर्वाचन आचारसंहिताबारे जानकारी गराउने र कार्यान्वयनमा निर्वाचन आयोगलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

    महिला उद्यमी महासंघका कार्यकारी सदस्य मल्लिका श्रेष्ठले निर्वाचनमा महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रयोग गर्न आग्रह गरे । श्रेष्ठले महिलाहरूका लागि निर्वाचनसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

    कार्यक्रममा निर्वाचन आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचन प्रक्रियामा जानकारी गराएका थिए । मतदाता नामावली, मतदान स्थल र मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन सूचना सम्प्रेषण र समन्वय केन्द्र, निर्वाचन पर्यवेक्षण लगायतका काम कारबाहीबारे घिमिरेले जानकारी गराए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    3

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »