१० बैशाख, काठमाडौँ । तराईका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै आज बैशाख १० गते देखि १४ गते शुक्रवार सम्म तातो हाला चल्ने जनाएको छ ।
Advertisement
विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा बिगत दूई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानहरूमा बिगत एक दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता आउने लगायतका समस्या हुन सक्छन् । तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न, हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान महाशाखाले बुलेटिन मार्फत आग्रह गरेको छ ।
टिप्पणीहरू