Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गायिका कोमलको स्वर्गीय आमाको नाममा अक्षयकोष स्थापना, छात्राहरुलाई अध्ययनमा सहयोग

    १२ मंसिर, दाङ । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

    आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् ।

    Advertisement

    अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताइन् ।

    ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूणर् खर्च यो ट्रष्टले व्यहोर्ने छ,’ वलीले बताइन् ।

    Advertisement

    ‘आमाले पढ्न पाउनु भएन,’ उनले भनिन्, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरुले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र उहाँको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित छोरीहरुलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताइन् ।

    यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने कोमल वलीले बताइन् ।

    Advertisement

    आफ्नी आमा पञ्चायतकालीन समयमा नै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भनिन्, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ भन्नुहुन्थ्यो । उहाँकै यही विश्वासलाई आधार बनाएर हामीले यो सम्मान वर्षेनी दिने योजना बनाएका हौँ ।’

    दीपा वली र उनका श्रीमान ललित वलीको नाममा स्थापित दीपा-ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिएकी छिन् ।

    Advertisement

    कोमल वलीको चर्चित गीत ‘मलमल किरी जुनकिरी’लगायत २ दर्जनभन्दा बढी गीतकी रचनाकारसमेत रहेकी दीपा वलीको मंसिर २ गते काठमाडौंमा निधन भएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »