२० असोज, काठमाडौँ । नेपालले शुक्रबार पूर्वी युरोपेली देश रोमेनिआ सँग श्रम सम्झौता गरेको छ । नेपालले युरोपकै अर्को देश जर्मनी सँग पनि असोज २३ गते मंगलबार श्रम सम्झौता गर्ने कार्यतालिका रहेको छ ।
नेपाली श्रमिकहरू हजारौँका संख्यामा युरोपमा काम गरिरहेको भए पनि यसअघि नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन । यी दुवै युरोपेली संघ ईयू सदस्य राष्ट्रहरू हुन् ।
Advertisement
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले न्यूनतम तलब, सामाजिक सुरक्षा र अन्य गुणस्तरीय दैनिक जीवनका पक्षमा युरोपेली देशको मापदण्ड निकै उच्च भएकाले सोही अनुसार त्यस तर्फ केन्द्रित हुन खोजिएको बताए ।
मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले श्रमिकहरूको सामाजिक हकहित र सुरक्षाका विषय त्यहाँका आन्तरिक कानुन नै बलियो भएकाले त्यसलाई नसमेटिकनै हुने यी पहिलो चरणको सम्झौता रहेको जानकारी दिए ।
Advertisement
नेपाल वैदेशिक रोजगार व्यावसायिक संघका अध्यक्षले युरोपेली देशमा धेरैजसो दक्ष जनशक्तिको माग हुने भएकाले यस सम्झौतासँग मेल खानेगरी नेपालमा त्यसको तयारी गर्न प्रेरित हुने बताए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने, ‘मुख्य रूपमा यसबाट नेपाली श्रमिकका लागि युरोपेली श्रम बजार समेत खुला छ भन्ने संदेश गएको छ । कार्यक्षेत्रको सुरक्षा, मानवअधिकार, श्रम कानुनका मापदण्ड राम्रो भएको ठाउँमा जान पाउनु सुखद कुरा हो ।’
Advertisement
रोमेनिआमा विभिन्न अनौपचारिक प्रक्रियाबाट गएर काम गर्ने नेपालीहरूको सङ्ख्या २५ हजार नाघिसकेको र जर्मनीमा मुख्य रूपमा विद्यार्थीका रूपमा गएर काम गर्नेहरू सहित ८ हजार हाराहारीमा नेपालीहरू रहेको श्रम अधिकारीहरूको आकलन छ ।
रोमेनिआ सरकारको विवरणमा भने हाल त्यहाँ साढे १५ हजार नेपाली श्रमिकहरू रहेको बताइएको छ जुन ईयूबाहिरको देशबाट कार्यरत दोस्रो उच्च संख्या हो ।
Advertisement
– बीबीसीबाट
टिप्पणीहरू