Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कैदीबन्दी फिर्ता ल्याउन कार्यदल गठन गर्ने, आश्रय दिनेलाई पनि कारबाही गरिने

    ११ असोज, काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै कैदीबन्दीलाई स्वेच्छाले कारागारमा फर्किन पुनः आह्वान गरेको छ ।

    Advertisement

    भागेका कैदीबन्दी फिर्ता ल्याउन जिल्ला तहमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र अन्य सरोकारवालाको सहभागितामा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरी खोजतलासलाई सघन बनाइने विभागले जनाएको हो ।

    विभागका अनुसार अहिलेसम्म उल्लेख्य संख्यामा कैदीबन्दी फर्किसके पनि अझै धेरै कैदीबन्दी फरार अवस्थामा छन् । उनीहरूको खोजी, नियन्त्रण र पक्राउ अभियानलाई तीव्र पार्न असोज २० गतेसम्म कारागारमा फर्किन समयसीमा दिइएको छ । सो समयसीमा भित्र स्वेच्छाले फर्किन नभए कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

    Advertisement

    विज्ञप्तिमा कार्यदललाई दैनिक अभिलेख व्यवस्थित राख्ने, बाँकी कैदीबन्दीहरूको नामावली सार्वजनिक गर्ने, स्थानीय तह, विद्यालय, क्याम्पस, बसपार्क, सीमा नाका, क्लब, टोल र मनोरञ्जन स्थलसम्म विवरण पुर्‍याई निगरानी गर्ने व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ ।

    यस्तै, फरार कैदीलाई आश्रय वा सहयोग गर्ने व्यक्तिलाई समेत कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ । खोजतलासलाई प्रभावकारी बनाउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य माध्यम मार्फत सूचना संकलन गर्ने व्यवस्था मिलाइनेछ ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »