६ असोज, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ ।
Advertisement
आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौं स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ ।
आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको बुझिएको छ ।
Advertisement
घटस्थापनाको दिन बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा शुभसाइत विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसैलाई जमरा राख्ने भनिन्छ ।
जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले पहिलो दिन रोपेर दशमीको दिन पूजा विसर्जनपछि पूर्ण कलशको जलले अभिषेक गरी जमरालाई प्रसादका रूपमा परिवारका ज्येष्ठ सदस्य वा पुरोहितबाट ग्रहण गर्ने परम्परा रहेको छ । कुल परम्परा र स्थान विशेष अनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि छ ।
Advertisement
दुर्गापक्ष पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
नौं वटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ। सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत र शक्तिपीठमा विशेष पूजा गर्दछन् ।
टिप्पणीहरू