२९ चैत्र, बाँके । पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छनविनका लागि राष्ट्रिय मानव अधिकार आयोग मार्फत नेपाल पत्रकार महासंघको माग पूरा गराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराइएको छ ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चार गृह र सञ्चारकर्मी माथि आक्रमणको घटनाको अनुसन्धान गरी दोषी उपर कारवाही गर्न नेपाल पत्रकार महासंघ निरन्तर रुपमा विरोधका कार्यक्रम गरीरहेको छ ।
Advertisement
पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषी माथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चार गृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गर्दै केन्द्रमा नेपाल सरकारका गृहमन्त्री, प्रदेशमा मुख्यमन्त्री र सबै जिल्ला शाखाबाट प्रमुख जिल्ला अधिकारी मार्फत सरकार समक्ष गत चैत्र १८ गते नै ध्यानाकर्षण पत्र पेश गरिसकेको छ ।
यद्यपि सरकारले ती माग माग पूरा गर्नेतर्फ पहल नगरेकोले महासंघ आफ्ना माग पूरा गराउन आन्दोलित रहेको अवस्था छ । महासंघले अहिले दोश्रो चरणको आन्दोलन अगाडि बढाएको छ ।
Advertisement
सोही अनुरुप आयोगबाट महासंघका माग पूरा गराउन नेपाल पत्रकार महासंघ बाँकेको अगुवाईमा बाँकेका पत्रकारले नेपालगञ्जको शान्तिनगर स्थित आयोगको कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त माग पूरा नभए आन्दोलनका थप कार्यक्रमको तालिका सार्वजनिक गर्ने सकुर्लर समेत गरिएको छ ।
टिप्पणीहरू