२४ चैत्र, बाँके । पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता नेपालगञ्जमा हुँदैछ । आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको उल्टो गन्ती शुरु भइसकेको छ । प्रतियोगितालाई उचित व्यवस्थापनका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरुले पनि अहिले आप्नो कामलाई तिव्रता दिएका छन् । नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको कटाई—छटाईको काम अहिले धुमधामका साथ भइरहेको छ । यसका साथै प्रतियोगितामा सहभगिता जनाउने टिमको व्यवस्थापन लगायतको महत्वपूर्ण काम पनि जोडतोडका साथ भइरहेको छ । अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्ला फुटबल संघले सहकार्य गरेको छ । संघका जिल्ला अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीसंग प्रतियोगिता तयारीकै सन्दर्भमा सावित्री गिरीले गर्नुभएको कुराकानी :
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई कसरी लिनुभएको छ ?
निश्चय पनि नेपालमा महिला फुटबल प्रतियोगिता एकदमै कम हुने गरेका छन् । लामो समयको अन्तरालपछि नेपालगञ्जमा हुनलागेको ठूलोस्तरको यो प्रतियोगिताले राम्रै प्रतिफल दिन्छ जस्तो लागेको छ । साथै, यो प्रतियोगिता महिला फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास पनि मैले लिएको छु ।
Advertisement
यो प्रतियोगिताले महिला फुटबल विकासको संभावनाहरु बारे बताइ दिनुस न ।
यो प्रतियोगिताले महिला फुटबलप्रति यस क्षेत्रका खेलाडीको रुची बढाउन पक्कै सघाउ पुर्याउछ । प्रतियोगितापछि स्थानीय तहमा महिला खेलाडीको सहभागिता बढ्ने सम्भावना पनि देखिन्छ ।
Advertisement
प्रतियोगितामा टिम सहभागिताको अवस्था कस्तो रहेको छ ?
यो प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहने छ । विभागिय टिमका साथै भारतका दुई टिमसंग हाम्रो कुराकानी भइरहेको छ । बाँके जिल्ला आयोजक भएकाले यहाको एउटा टिम र बाँकी अन्य टिमको सहभागिता रहने छ । सबै टिमको नाम हामी एक/दुई दिनमा सार्वजनिक गरिनेछ ।
प्रतियोगिता तयारीका क्रममा आइपरेका चुनौति के कस्ता छन् ?
चुनौतीहरु छन । तर, हामी आशाबादी छौ । हामी अहिले तयारीको अन्तिम अवस्थामा छौं । अब पछाडी फर्कने वाटो हामीसंग छैन । प्रतियोगिता गराएरै छाड्नेमा हामी दृढ संकल्पिक छौ । यही अठोटका साथ चुनौतिलाई चिर्दै हामी अघि बढिरहेको अवस्था छ ।
Advertisement
अन्त्यमा, लुम्बिनीकप जस्ता इभेन्टहरु कहिले काही मात्र हुने गर्छन । सगग्रमा भन्नुपर्दा फुटबल खेलको विकासान यहाँको भूमिका निरन्तर कसरी अघि बढिरहेको छ ?
यो कुरा एकदम मननयोग्य छ । फुटबल खेलमा सहभागिता र चासोका लागि हामीले तयारी गरिसकेको अवस्था छ । लुम्बिनी कप सकिने वित्तिकै हामी नेपालगन्जमै महिला खेलाडीहरुलाई लक्षित गरेर प्रशिक्षण चलाउछौं । महिला खेलाडीमा निरु थापा र पुजा राना जस्ता खेलाडीहरु अबका दिनमा पनि हामी जन्माउने छौ । खेलाडीको खडेरी हुन दिइने छैन । फुटबल क्षेत्रका विविध समस्यालाई चिरेर अगाडि बढ्दै जाने मेरो योजना रहेको छ । बाँके जिल्लामा स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यमा मलगायत मेरो टिम सधै अघि बढिरहेको छ ।
टिप्पणीहरू