२० असोज, बाँके । बाँकेको नेपालगञ्जमा रहेका मासु पसलमा अनुगमन थालिएको छ । शनिवार वाणिज्य कार्यालय, पशु कार्यालय, खाद्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतको संयुक्त टोलीले नेपालगञ्जका मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहामा रहेको मो. सरिफ फ्रेस हाउसलाई अखाद्य मासु बिक्रीवितरण गरेको र सडेको मासु बेचेको पाइएपछि रु २० हजार जरिवाना गरिएको हो ।
Advertisement
वाणिज्य कार्यालय नेपालगञ्जका अनुगमन टोली प्रमुख हरि बहादुर खत्रीका अनुसार उक्त मासु पसलले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को घ बमोजिम कसुर गरेको पाइएपछि जरिवाना गरिएको हो ।
अनुगमनका क्रममा अखाद्य मासु बिक्री गरेको प्रमाणित भएपछि सो पसललाई तत्काल जरिवाना गरिएको खत्रीले जानकारी दिए । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजारमा रहेका मासु पसलको नियमित अनुगमनको आवश्यकता रहेको भन्दै खत्रीले यस्ता कार्यमा सचेत रहन आग्रह गरे ।
Advertisement
यस्तै, आलाम मिट पसलमा समेत अनुगमन गरिएको थियो, तर कुनै ठूला गल्ती नपाइएको हुँदा त्यस पसललाई सचेत गराइएको छ । अनुगमन टोलीले मासु पसलहरुलाई साफ-सुग्घर र मापदण्डअनुसार काम गर्न निर्देशन दिएको छ । मासुजन्य वस्तुको गुणस्तरमा कुनै कमी आएमा तत्काल कानूनी कारबाही गरिने समेत चेतावनी दिएको छ ।
संयुक्त टोलीले अनुगमनका क्रममा अन्य पसलहरुको पनि निरीक्षण गरेको थियो र उपभोक्ताहरुले पाउने सेवामा सुधार ल्याउने उद्देश्यले यस्ता अभियान निरन्तर चलाइने बताइएको छ ।
टिप्पणीहरू