१७ साउन, बाँके । वेस्टर्न अस्पताल नेपालगञ्जले विश्व स्तनपान सप्ताहको २०२४ को नारालाइ आत्मसाथ गर्दै “स्तनपानमा समानता,सबैको सहयोग र सहभागिता” भन्ने विषयमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्तनपानको महत्त्व र यसले बालबालिकाको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव बारे जनचेतना फैलाउने उद्देश्य रहेको अस्पतालले जनाएको हो ।
कार्यक्रममा अस्पतालका बरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर कल्पना थापाले बिशेष प्रस्तुति गर्दै स्तनपानको महत्त्वपूर्ण भूमिका र यसले बच्चाहरूको शारीरिक र मानसिक विकासमा पुर्याउने फाइदाबारे जानकारी दिइन ।
Advertisement
प्रस्तुतिमा उनले भनिन, “स्तनपानले बच्चालाई आवश्यक पोषण प्रदान गर्दछ र आमाको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ। हामी सबै आमाहरूलाई स्तनपान गराउन प्रोत्साहन दिन्छौं र यसका लागि आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं ।”
साथै कार्यक्रममा आहारविद सुशिल खनालले आमाहरुलाई सुत्केरी अवस्थामा पोषण, खानको तालिका, खानाका परिकार लगायतका विषय सहभागीहरुलाई जानकारी गराए ।
Advertisement
कार्यक्रममा सहभागी आमाहरुले आफ्ना अनुभवहरू साझा गर्दै स्तनपानका चुनौतीहरूबारे छलफल गरेका थिए । कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मीहरूले स्तनपान सम्बन्धी सही तरिका र उपायहरका बारे प्रदर्शन समेत गरेका थिए ।
उक्त कार्यक्रमले आमाहरूलाई स्तनपान सम्बन्धी आवश्यक जानकारी र सहयोग प्रदान गर्न सफल भएको अस्पताल विश्वस्त छ ।
Advertisement
अस्पतालले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
टिप्पणीहरू