११ जेठ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सँग नेपाल भ्रमणमा रहनुभएका एम्नेष्टी इन्टरनेशनलका महासचिव डा.एजेन्स काल्लामार्ड नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय,च् यासलमा आज भएको भेटमा मानवअधिकार, सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र दलित समुदायमाथिका विभेद लगायत विषयमा कुराकानी भएको पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
Advertisement
सो अवसरमा अध्यक्ष ओलीले आफू लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ५९ बर्षदेखि सङ्घर्ष गर्दै आएको र त्यस क्रममा विना कारण जेल सजाय र यातना भोग्नुपरेको स्मरण गर्दै राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानवअधिकार र सुशासनको ग्यारेण्टी गरिएको बताए ।
अध्यक्ष ओलीले सङ्क्रणकालीन न्यायको विषय आफू प्रधानमन्त्री रहेको समयमा टुङ्गोमा पुर्याउन धेरै प्रयत्न गरेको तर कतिपय राजनीतिक दलहरू सत्तामा रहँदा र नरहँदा यस बिषयमा फरक फरक ढङ्गले प्रस्तुत हुने कुराले ढिलाई भइरहेको बताए ।
Advertisement
उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्छ भन्ने पार्टीको धारणा रहेको र यस विषयको टुङ्गो लगाउँदा गम्भीर अपराधका घटनालाई गोलमटोल रूपमा माफी दिन नसकिने स्पष्ट पारे ।
अध्यक्ष ओलीले आफू जेलमा रहँदा एम्नेष्टी इन्टरनेशनलले देखाएको चासो र सहयोगका लागि धन्यवाद समेत दिए ।
भेटमा एम्नेष्टी इन्टरनेशनलका महासचिव काल्लामार्डले नेपालमा खासगरी सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र दलित समुदायमाथिको विभेद जस्ता विषयमा जिज्ञाशा राखेका थिए ।
टिप्पणीहरू