Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानमा सक्रिय बन्दै ‘नेपाल प्रहरी’

    फाइल तस्बिर

    ३ बैशाख, काठमाडौँ । नेपालमा केही समय अघिसम्म विलासिताको रूपमा हेरिएका सवारी साधनहरू अहिले जिवनको अत्यावश्यक साधनको रूपमा प्रयोग हुने गरेको छ । त्यसमाथि पनि नेपालजस्तो निम्न र मध्यम स्तरका नागरिक बढी भएको देशमा मोरसाइकलको अत्यधिक प्रयोग भइरहेको छ । जसको कारण मोटरसाइकल खरिद गर्ने क्रम पनि बढेको देखिन्छ । मोटरसाइकलको संख्या बढेसँगै चोरी पनि भइरहेको र अनुसन्धान पनि जारी रहेको छ ।

    काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट ओखलढुंगाका संजोक टोलाङीको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । तत्काल खोजी तथा अनुसन्धान गर्दै जाँदा काठमाडौं पेप्सीकोलामा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल टोलाङीलाई बुझायो ।

    Advertisement

    त्यसैगरी ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि चोरी भयो । उनले ट्राफिक प्रहरीमा उजुरी दिइन् । खोजी तथा अनुसन्धान गर्दै जाँदा ललितपुर चापागाउँमा मोटरसाइकल फेला पर्‍यो । उनलाई पनि ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल बुझायो ।

    टोलाङी र घोष जस्तै धेरै जनाको मोटरसाइकल चोरी हुने गरेको छ । यसरी हुने चोरी रोकथाम गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सक्रियता बढाएको छ । पछिल्लो समय चैत १३ गते मात्र उक्त कार्यालयले फेला पारेका २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनीहरू सबैले खुसी हुँदै ट्राफिक प्रहरीलाई हस्तान्तरण कार्यक्रममै भावुक हुँदै धन्यवाद दिए ।

    Advertisement

    यस सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भने, ‘चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सुक्ष्म तरिकाले निग्रानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकोले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ ।’

    चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७४ वटा मोटरसाइकल फेला परेका छन् । फेला परेका मोटरसाइकल मध्ये २ सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको छ ।

    Advertisement

    यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५ सय ५१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४ सय ९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६०४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो ।

    Advertisement

    मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । चोरी हुनबाट सचेत गराउन समय समयमा सचेतनामूलक पर्चा वितरण तथा कार्यक्रम संचालन गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको छ ।

    काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी गराउदैँ भने, ‘चोरी भएका सवारी साधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ । युनिटले तत्कालै परिचालित भई के-कस्तो सवारीसाधन कहाँबाट चोरी भयो ? विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ । छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको छ । यसप्रकार खोजतलास, निग्रानी, अनुसन्धानको क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुन्छ ।’

    प्रहरीको चेकजाँचको कारण कतिपय डराएर एकान्त ठाउँमा मोटरसाइकल छोडेर हिड्ने गरेका छन् भने कतिपय भाग्दा भाग्दै पक्राउ पर्ने गरेका प्रवक्ता श्रेष्ठले बताए ।

    चोरीका मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्ने गरेको छ । चोरी हुन नदिन सम्बन्धित धनी नै चनाखो हुनु बुद्धिमानी हो । प्रहरी नायव महानिरीक्षक ढकालले भने, ‘चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »