८ फाल्गुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरूद्धको आक्रमण रोक्नका लागि पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताएका छन ।
अध्यक्ष ओलीले नेकपा (एमाले)मा फर्किएका नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्लाका नेता कार्यकर्ताहरूलाई सोमबार पार्टी कार्यालय, च्यासलमा स्वागत गर्दै पार्टीविरूद्ध लागेका शक्तिहरूसँग सङ्घर्ष गर्नुको विकल्प नभएको बताए ।
Advertisement
अध्यक्ष ओलीले भने, ‘पार्टीविरूद्धको आक्रमण रोकिन कि त हामीले अग्रगामी कार्यक्रम छोड्नुपर्छ कि त शान्तिपूर्ण सङ्घर्ष गर्नुपर्छ, लोकतान्त्रिक प्रक्रियाबाट विरोधको सामना गर्दै विजयी हुनुपर्छ ।’
उनले एमालेलाई सिध्याउनु भनेको राष्ट्रिय शक्तिलाई सिध्याउने भनेको हो भन्नुहुँदै पार्टीमा सक्रिय, योजनाबद्ध र एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।
पार्टी अहिले विरोधीहरूले सिध्याउँछौं भनेको ठाउँबाट सबल ठाउँमा आइपुगेको बताउँदै अध्यक्ष ओलीले भने, ‘अरू दल अस्तित्व जोगाउन गठबन्धनमा रहेका छन, एमाले अस्तित्व जोगाउन होइन, समृद्धि नेपाल सुखी नेपाली बनाउन सबल र सुदृढ बन्दै अगाडि बढेको छ ।’
गठबन्धनमा रहेका दलहरूलाई तिनका विदेशी प्रभुले गठबन्धन नछोड्न भनिरहेको भनाइ उनले राखे ।
नेकपा (एमाले)लाई मजबुत राष्ट्रिय शक्ति बनाउनका लागि आफूहरू एकता र एकीकरणको पक्षमा रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले त्यसकै श्रृङ्खलाका रूपमा आज साथीहरूलाई स्वागत गरिएको बताए । उनले भने, ‘पार्टी बलियो बनाउन लाग्नूस, एकता आफै हुन्छ ।’
Advertisement
अध्यक्ष ओलीले अहिले देशको राष्ट्रिय हित सङ्कटमा रहेको बताउँदै महाकाली सन्धि गर्दा देश बेच्यो भनेर हुण्डरी मच्चाउने तथाकथित देशभक्त शक्ति अहिले कहाँ छन ? भन्दै प्रश्न गरे । उनले महाकाली सन्धि गरेर अघिल्लो सन्धि सच्चिएको र त्यसबाट भारतलाई बाँध बाँध्न दिएको नेपालको जमीन फिर्ता ल्याइएको स्पष्ट गरे ।
अध्यक्ष ओलीले २०७४ सालको निर्वाचन अघि माओवादी सँग चुनावी गठबन्धन र निर्वाचनपछि पार्टी एकता पनि आफ्नै पहलमा भएको बताउँदै त्यसबेला निर्वाचनमा एमाले र माओवादी गठबन्धनले दुईतिहाइको हाराहारी सिट जिते पनि सरकार गठन हुन नदिने षडयन्त्रमा प्रचण्ड लागेका कारण आफूले निर्वाचन परिणाम आएको करिव तीन महिना पछि फागुनमा मात्र सरकार गठन गर्न सकेको स्पष्ट पारे ।
Advertisement
उनले नेकपाभित्र डरलाग्दो घुसपैठ भएको र त्यो कार्यकर्ता तहलाई धेरै थाहा नभएको बताउँदै पार्टी विभाजन हुनबाट जोगाउन आफूले हरसम्भव कोशिश गरे पनि पार्टीभित्रका मिर कासिम र मिर्जाफरहरूका कारण विभाजन रोक्न नसकेको स्पष्ट गरे ।
त्यस अवसरमा अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने अवस्थामा पुगेको पनि जिकिर गरे ।
Advertisement
उनले भने, ‘हेर्दा हेर्दै कांग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेको छ, पात सुकेर, बोक्रा पट पट फुटेर बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन ।’
टिप्पणीहरू