Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अनुसन्धानमा प्रभावकारी हुँदै सिसिटिभि, हालसम्म १३,६७५ वटा जडान

    फाइल तस्बिर

    ६ फाल्गुन, काठमाडौँ । गत भदौ २९ गते राति काठमाडौं तिनकुने स्थित दिव्य स:मिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसिटिभि मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भएकाे छ ।

    यसैगरी गत पुस १७ गते दिउँसो दहचोक देखि कालीमाटी आउने क्रममा एकजना पीडितको साथमा रहेको १ लाख ३० हजार रूपैयाँ भएको झोला खसेर हराएको जानकारी प्राप्त भयो । सिसिटिभि मनिटरिङबाट उक्त झोला बा.६३ प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेको देखि चालकसँगको समन्वयमा उक्त नगद पीडितलाई बुझाउन प्रहरी सफल भएकाे केन्द्रिय प्रहरीले जनाएकाे छ ।

    Advertisement

    यी त केही प्रतिनिधि घटनाहरु हुन् । यसरी हुने दैनिक घटनाहरूको निगरानी तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने गर्दछ । सिसिटिभि मनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा तथा हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्ने काम पनि हुन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारवाही गर्न सिसिटिभि प्रभावकारी माध्यम हो । यसले चोरी डकैती लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरण तथा नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सहज तथा प्रभावकारी बनाउन मदत गर्छ । त्यसैले प्रहरी संगठनले सिसिटिभि प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।”

    चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा देशभर १,२९५ वटा थप सिसिटिभी जडान भएका छन् । ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत २६१ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३९० वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७० वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १२६ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६२ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १०३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ९४ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८९ वटा जडान भएका छन् । ती मध्ये विभिन्न संघसंस्थाबाट १,११४ वटा र प्रहरी कार्यालयबाट १८१ वटा जडान भएका हुन् ।

    Advertisement

    हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सिसिटिभि १३,६७५ वटा रहेका छन् । तीमध्ये ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत ३,९९३ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत २,४५८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत १,५३२ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १,३६८ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १,६५१ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १,४१० वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४४८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८१५ वटा छन् ।

    सिसिटिभि क्यामेराको प्रयोगले मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापन, विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसको प्रभावकारिता बढ्दै गएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण लगायत सुशासनसँग सम्बन्धित विषयमा प्रभावकारी काम गर्न सूचना तथा संचार प्रविधि सरल माध्याम हो । यस प्रणालीलाई प्रभावकारी बनाई सोको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सिसिटिभी क्यामेराको भूमिका महत्वपूर्ण छ । क्यामेरा अकाट्य प्रमाण भएकोले घटनासँग सम्बन्धित मानिस उम्किन पाउँदैन ।”

    Advertisement

    चालु आर्थिक वर्षको पुससम्म ६ महिनाको अवधिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल १,२९७ फुटेज माग भएकोमा ५८१ फुटेजहरू उपलब्ध गराइएको छ । सोही फुटेजहरुको आधारमा ४०९ वटा घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । सो अवधिमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी फरार १४,६३३ जना र ट्राफिक सपोर्ट कारबाही २५,६३६ जना गरी ४०,२६९ जनालाई सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।

    सिसिटिभि मोनिटरिङका सम्बन्धमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी संचार तथा सिसिटिभि शाखाका प्रमुख प्रहरी उपरीक्षक दामोदर कँडेल भन्नुहुन्छ, “आधुनिक प्रविधिको प्रयोग गर्दै चौविसै घण्टा सिसिटिभिको माध्यमले मोनिटरिङ गरी परिणाममुखी एवं प्रमाणमुखी प्रहरी कार्यलाई थप व्यवस्थित बनाउन निरन्तर लागीरहेका छौं ।”

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »