२९ माघ, काठमाडौँ । काठमाडौंको बौद्ध स्थित लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना एवं प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवं गोकर्णेश्वर नगरपालिका–६ समेतको संयुक्त सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
Advertisement
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसालाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन । यस्ता कार्यक्रमबाट समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन ।
सामुदायिक सेवा केन्द्र जोरपाटीका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले आभार व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
Advertisement
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कानूनी सल्लाहकार राधिका खतिवडा र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सचेतनामूलक नाटक एवं गीति नाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षकरशिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू