१९ माघ, काठमाडौँ । नेपाल प्रहरीले गत साउन १ गते देखि पौष मसान्त सम्म ६ महिनाको अवधिमा देशभर गरी ५३ हजार ६ सय ५८ वटा ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रमबाट २७ लाख ६१ हजार ८ सय ७६ जना सर्वसाधारणहरू प्रत्यक्ष लाभान्वित भएका छन ।
सवारी दुर्घटनाबाट बेलाबखत ठूलो धनजनको क्षति हुने गरेको यथार्थलाई मनन गर्दै दुर्घटना न्यूनिकरण, सडक सभ्यता अभिवृद्धि र सर्वसाधारणलाई सवारी नियमबारे सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रम संचालन गरिएको हो ।
Advertisement
सो अवधिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ३ हजार २ सय १४ पटक, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू ईटहरी सुनसरीले १२ हजार ४ सय १८ पटक, पथलैया बाराले ५ हजार २ सय १३ पटक, रामनगर चितवनले ४ हजार २७७ पटक, गगनगौंडा कास्कीले १६ हजार २ सय ७७ पटक, बुटवल रूपन्देहीले ६ हजार ९ सय ४५ पटक, सुर्खेतले २ हजार ६ सय ५२ पटक र अत्तरीया कैलालीले २ हजार ७ सय २ पटक कार्यक्रम संचालन गरेका छन ।
यी कार्यक्रमबाट क्रमश १ लाख ९९ हजार ४८ जना, २ लाख ८४ हजार ८२३ जना, ३ लाख ७२ हजार ३२२ जना, ५ लाख ८६ हजार ४३३ जना, ६ लाख ९५ हजार ७०६ जना, ३ लाख ४ हजार ५२३ जना, १ लाख ३ हजार ७६७ जना र २ लाख १५ हजार २५४ जना सर्वसाधारण लाभान्वित भएका छन ।
Advertisement
सडक दुर्घटना न्यूनिकरण गर्न सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्ययोजना निर्माण, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण समेत संचालन हुँदै आएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भने, ‘न्यूनिकरण अभियान प्रभावकारी बनाउन सडक सुरक्षाका सबै उपायहरू अवलम्वन गरिएको छ । ट्राफिक व्यवस्थापन संगै सम्बन्धित सरोकारवाला निकायहरू, स्थानीय जनप्रतिनिधिहरू र यातायात व्यवसायीहरूसँग सवारी दुर्घटना तथा रोकथाम नियन्त्रण सम्बन्धी छलफल, समन्वय र सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ । यसबाट ट्राफिक व्यवस्थापनलाई थप चुस्त राख्न विशेष सहयोग पुगेको छ ।’ सवारी जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाहलाई चुस्त बनाइएको प्रवक्ता ढकालको भनाइ छ ।
Advertisement
सचेतना कार्यक्रम अन्तर्गत २ हजार ३ सय ९० पटक विद्यार्थीलाई कक्षा संचालन, ४ सय २० पटक सामुदायिक सेवा मार्फत कक्षा संचालन, २ हजार ३ सय ९२ पटक नयाँ चालकलाई कक्षा संचालन, १४ हजार १३ पटक व्यावसायी र चालकरपरिचालकलाई कक्षा संचालन, ८ हजार ९ सय ८७ पटक सर्वसाधरणलाई कक्षा संचालन, ६ सय ८९ पटक अन्तरक्रिया तथा गोष्ठी, १ हजार ६ सय ३९ पटक ट्राफिक डेरसप्ताह, १ हजार ७६ पटक चेतनामुलक माईकिङ, १४ हजार ७ सय ७२ पटक चालक र यात्रु मैत्री कक्षा संचालन र ५ सय १ पटक ओभरटेक सम्बन्धी कार्यक्रम गरिएको छ । कार्यक्रममा ६ हजार ८ सय १९ पर्चा, पम्प्लेट, पोष्टर वितरण गरिएको छ ।
सचेतना कार्यक्रममा सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सु–सुचित गर्ने काम पनि प्रहरीले गर्दै आइरहेको छ । भाडा तथा टिकटमा ठगी लगायतका यात्रुहरूको समस्या प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न प्रहरी सक्रिय छ ।
Advertisement
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने, ‘ट्राफिक प्रहरी अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाउने गरिएको छ ।’
बढ्दो सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी कार्यक्रम अभियान कै रूपमा चलाइएको हो । यसबाट मापसे गरी सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, लापरबाही साथ सवारी चलाउने चालकलाई सचेत गराउन सहयोग पुगेको छ ।
‘सवारी दुर्घटनाबाट बचौं र बचाऔं । सवारी दुर्घटना न्यूनिकरणमा तपाई हाम्रो भूमिका छ’ भन्ने लगायतका नारा सहित संचालन हुने यस्ता सचेतना कार्यक्रममा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सामाजिक संघ संस्था, यातायात व्यवसायी, खेलाडी, आमनागरिक लगायत विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता हुने गरेको छ ।
यसबाट जीवन पद्धतिको प्रमुख आधार रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न अहम भूमिका निर्वाह भएको छ । यसबारे प्रहरी नायव महानिरीक्षक ढकालले भने, ‘सचेतना कार्यक्रम मार्फत दुर्घटना न्यूनिकरण, सवारी नियमबारे चेतना फैलाउनुका साथै चालकरसहचालकमा आचरण, बानी, व्यवहार र बोलीचालीमा गुणात्मक परिवर्तन ल्याउन सफल भएका छौं ।’
विभिन्न सडकखण्डमा पार्किङको व्यवस्थाको साथै नो–पार्किङ, हर्न निषेध, दुर्घटनाग्रस्त क्षेत्र, रोक्न निषेध लगायतका ट्राफिक संकेत बोर्डहरू विभिन्न क्षेत्रमा राख्ने गरिएको छ । यसबाट दुर्घटनाग्रस्त क्षेत्रमा चालकलाई सचेत गराउन सहयोग मिलेको छ ।
टिप्पणीहरू