२९ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनलाई अराजक बनाउन लाग्ने पार्टीका नेता भए पनि कारबाही गर्ने प्रस्ट्याएको छ ।
जेनजी समूहले गरेको प्रदर्शनका क्रममा माओवादीमा आवद्ध कार्यकर्ताहरु समेत आगजनी तथा तोडफोडमा संलग्न रहेको भन्दै विरोध भइरहेको छ ।
Advertisement
माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आज विज्ञप्ति जारी गर्दै आपराधिक कार्यमा संलग्न भए जो कोहीलाई कारबाही गर्न भनेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको कार्यालयहरु, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड गर्ने कार्य भएका छन् । त्यो तथ्य जनतासामु प्रष्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तत्पर छौँ । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौँ ।’
Advertisement
त्यस्तै माओवादीले जेनजी समूहको आन्दोलनका क्रममा लोकतन्त्र विरोधी तत्वहरु मिसिएर विध्वंस र आतंक मच्चाएको जनाएको छ ।
Advertisement
‘जेनजी पुस्ताले उठाएका मागहरू सम्बन्धी हाम्रो पार्टीको नीति तथा धारणा अध्यक्ष प्रचण्डले सार्वजनिक अपिल प्रकाशित गर्दै स्पष्ट गरिसक्नु भएको छ,’ माओवादीले भनेको छ, ‘आन्दोलन भित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भत्र्सना गर्दछ। यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धूमिल बनाएको छ ।’
प्रमाण भेटिए कारबाही गर्न आग्रह गरिएको भन्दै माओवादीलाई अनावश्यक विवादमा तान्न खोजेकोप्रति माओवादीले आपत्ति जनाएको छ ।
Advertisement
‘केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ माओवादीले भनेको छ, ‘यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’
टिप्पणीहरू