१९ माघ, बाँके । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्न लागेकोमा उक्त सम्मानमा थारु पत्रकार नपरेको भन्दै थारु पत्रकार संघ बाँके शाखाले बिरोध जनाएको छ ।
सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्यविधि २०८० बमोजिम यस वर्ष वितरण गरिने अग्रज पत्रकारिता पुरस्कार र श्रृजनशिल पत्रकारिता पुरस्कारको विषयमा लुम्बिनी प्रदेश सरकारको गृह मन्त्रालय राप्ती उपत्यकाले माघ १८ गतेको मन्त्रीस्तरिय निर्णयानुसार प्रदेशमा १३ जना सञ्चारकर्मीको नामावली सार्वजनिक गरेको थियो । मन्त्रालयले बिहीबार श्रृजनशिल पत्रकारिता पुरस्कारका लागि १२ जना र एक जना अग्रज पत्रकारिता पुरस्कारका लागि सञ्चारकर्मीहरुको नाम सार्वजनिक गरेको थियो । तर यस पुरस्कारमा थारु पत्रकारलाई नसमेटिएको भन्दै थारु पत्रकार संघले आपत्ति जनाएको छ ।
Advertisement
थारु पत्रकार संघ बाँकेले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै निर्णय तत्काल सच्याउन माग गरेको छ ।
प्रदेशमा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन गर्न र हौसला प्रदान गर्न लुम्विनी प्रदेश सरकारले पुरस्कार दिने गरेको निर्णय स्वागत योग्य रहेको जनाउदै थारु पत्रकार संघ बाँकेका संघका सचिव जागेश्वर सिंह थारुले थारु बाहुल्य प्रदेशमा एक जना पनि थारु पत्रकार पुरस्कार पाउने सूचीमा नपर्नु दुर्भाग्य रहेको बताए ।
Advertisement
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कार वितरण गर्दा क्रियाशील पत्रकारलाई भन्दा राजनीतिक पहुँच र व्यक्तिगत सम्पर्क भएका पत्रकारलाई मात्र प्रदान गरेको थारु पत्रकार संघ, बाँकेको ठम्याई छ ।’
यो प्रदेशमा सयौंको संख्यामा थारु पत्रकार क्रियाशील भए पनि लुम्विनी प्रदेशले थारु पत्रकारलाई उपेक्षा गरेको निश्कर्ष निकाल्दै निर्णय तत्काल सच्याउन संघले माग गरेको हो ।
Advertisement
उक्त निर्णय नसच्याए थारु पत्रकार संघ बाँकेले लुम्विनी प्रदेश सरकारको सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने घोषणा समेत गरेको छ ।
टिप्पणीहरू