२० मंसिर, बाँके । नेपाल-भारत सीमा अन्र्तगत बाँके जिल्ला संग जोडिएका सीमा स्तम्भको निर्माण, मर्मत संभार एवं पुनःस्थापन थालिएको छ । बाँके जिल्लासँग जोडिएका ७१ वटा विजोर नम्बरका सीमा स्तम्भ नेपालपक्षबाट रंगरोगन एवं मर्मत थालिएको छ ।
बुधबारबाट एक समारोह बीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ६५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन गरी जिल्लाको सीमामा रहेका पिलरहरुको मर्मत संभार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
Advertisement
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणले उक्त कार्य सुरु गरेको हो । यस अघि नापी बिभागबाट मर्मत संभार कार्य हुने गरेकोमा साल २०७७ साउन १९ को क्याविनेटको निणर्य अनुसार उक्त जिम्मेवारी शसस्त्र प्रहरी बललाई दिइएको थियो । जस पश्चात शसस्त्र प्रहरीले देशभर पहिलो पटक सीमा स्तम्भको रंगरोगन एवं मर्मत संभार सुरु गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले जानकारी दिए ।
एक समारोह बीच नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बाँकेका प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोराले संयुक्त रूपमा उक्त कार्य सुरु गरेको हो ।
Advertisement
बाँके जिल्लामा कुल ३ सय ११ वटा सीमा स्तम्भ रहेका छन । जसमध्ये जोर नम्बरका सीमा स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मत गरीसकेको छ ।
बाँकेमा ४ वटा मुख्य र ६७ वटा सहायक गरेर जम्मा ७१ वटा बिजोर संख्यामा सीमा स्तम्भ रहेका छन । बिजोर संख्यामा रहेका सीमा स्तम्भ नेपाल सरकारबाट गर्नुपर्ने भएकोले सोही अनुसार रंगरोगन एवं मर्मत सुरु गरिएको हो ।
टिप्पणीहरू