१७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको व्यवस्थालाई उल्ट्याएर राजतन्त्रको कुरा गर्ने देशद्रोही रहेको जिकिर गरेका छन । उनले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् ।
समृद्धिको लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका छन । उनले प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी गरेका छन ।
Advertisement
‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीको भनाइ छ । लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’
अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको स्मरण गराए ।
Advertisement
‘फेरि पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, पुर्वप्रधानमन्त्री ओलीको भनाइ छ ।
टिप्पणीहरू