८ मङ्सिर, बाँके । नेपालगन्जमा भएको कनक्लेभको तेस्रो संस्करणमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताएका छन । अहिले धारा तेल, ज्ञान चक्की सहित धेरै ब्राण्डहरु स्थापित गर्न के एल दुगड ग्रुप सफल भएको उनले बताए ।
उनका अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन गर्दा २०५० साल तिर ९० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले चाहीँ १० प्रतिशत छ । ‘ठ्याक्कै उल्टो भएको छ । त्यसकारण हामीले कृषि उत्पादन तिर जोड दिनु आवश्यक छ,’ उनले भने ।
Advertisement
कच्चा पदार्थ उत्पादन किन भइरहेको छैन ?
छाजेडले उद्योग नभएसम्म रोजगारी असम्भव रहेको बताए ।उनले भने, ‘किसानलाई मल र बिउ उपलब्ध गराउन सकेमा उत्पादन बढ्छ । अहिले उत्पादन परहेक्टर हुनुपर्ने जति भएको छैन । कृषिमा बजेट छुट्याएपनि सदुपयोग हुन सकेको छैन ।’
उनले अनुदान वितरण न्यायोचित हुन नसकेको बताउँदै उपयोग पनि सही तरिकाले हुन नसकेको जिकिर गरे ।
Advertisement
‘खेतमा काम गर्दा परिवारको खर्च चलेन भने रोजगारीमा जानु पर्छ । रोजगारीमा अन्त जादा जमिन बाँझो हुन्छ । मौसमका कारण मसिनो धान उत्पादन हुन सकेको छैन । मोटो धान उत्पादन बढी छ । अनि हामीले खान्छौ मसिनो धान ।’
उनले खाद्यान्नमा परनिर्भरता तर्फ देश गइरहेकोमा चिन्ता व्यक्त गरे । एकातिर खाद्यान्न आयात बढिरहेको र अर्कोतिर चाहिएको जति उत्पादन हुन नसकेको बताउँदै उनले माटो र जग्गाको हेल्थकार्ड बनाउनु पर्ने अवधारण अघि सारे ।
Advertisement
उनले थप भने, ‘उत्पादन के हुन्छ त्यसमा ध्यान दिनु पर्छ । किसानलाई आवश्यक परेको बेला ऋण दिनु पर्छ । किसान क्रेडिट कार्ड प्रयोगमा ल्याएर लोन उपलब्ध गराउँदा राम्रो हुन्छ ।’
कच्चा पदार्थको आयातको लागत पूर्वमा भन्दा पश्चिम नेपालमा बढी भएको बताउँदै उनले त्यसका कारण आयातमा लागत बढी रहेको उल्लेख गरे । आयातमा लागत घटाउन सुख्खा बन्दरगाह सन्चालनमा आयो र रेलवेको विकास हुन सक्यो भने त्यसले धेरै ठूलो फड्को मार्ने उनले आशा व्यक्त गरे ।
टिप्पणीहरू