Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कब्जियत भनेको के हो ? : डा.दामोदर तिवारी

    कब्जियत भनेको विशेषगरी बालबालिकाले नियमित दिसा नगर्नु अथवा दिसा गरिहालेमा पनि दुई /तीन दिनको बीचमा साह्रो खालको गोटा परेको जस्तो दिशा गर्नुलाई आमरुपमा कब्जियत भनेर बुझिन्छ ।

    भर्खरै जन्मेको नवजात शिशुहरुलाई कब्जियत सर्जिकल कारणहरुले हुनसक्छ । सर्जिकल कारण भनेको आन्द्राको बनावटमै खराबी भयो भने अथवा मलद्वारमा केही समस्या भयो भनेपनि कब्जियत हुने गर्दछ । भर्खरै जन्मेको नवजात शिशुलाई कब्जियत भनिहाल्नको लागि पनि हामीले केही कुरा छुट्याउनुपर्छ । जस्तैः नवजात शिशुहरुले कहिलेकाहीँ हप्ता दश दिनसम्म पनि दिसा नगर्न सक्छन् र कहिलेकाही दिनकै ८/९ पटक थोरैथोरै मात्रमा पनि दिशा गर्न सक्छन् । तर कब्जियत हो भनेर पहिचान गर्नको लागि नवजात शिशुहरुले आमाको दूध प्रशस्त मात्रामा खाइरहेको अवस्था छ, बच्चा रोएको छैन, पेट फुलेको छैन, उमेरअनुसारको खेलाइ छ, हातखुट्टा राम्रोेसँग चलाइराखेको छ, वायु बगेको छ र वान्ता भएको छैन भने त्यो कब्जियत होइन ।

    Advertisement

    कहिलेकाही हप्ता दिनसम्म पनि दिसा गरेको छैन, बच्चालाई दूध खाँदाखेरी असजिलो भएको छ , पेट फुल्दै गएको छ, साह्रो गोटा परेको दिशा आउँछ र दुई तिन दिन बिराएर मात्र दिसा भइरहेको छ र वायु पनि गएको छैन भने त्यस्तो अवस्थामा अभिभावक गम्भीर हुनुपर्दछ । शिशुको अवस्था सामान्य जस्तो लागेन भने तपाईंले तुरुन्तै नजिकको बालरोग विशेषज्ञलाई देखाउनुपर्दछ र परामर्श गरेर अगाडि बढ्नुपर्दछ ।

    अल्लि ठूला भएका बच्चाहरुमा कब्जियतको कारण मेडिकल र सर्जिकल हुन सक्छ । ती कारणले पनि दिशा गोटा पर्ने हुन सक्छ । मेडिकल कारणमा थाइराइड हुन सक्छ । हाइपो थाइराडिज्म भयो भने पनि दिसा गोटा पर्ने हुन सक्छ । अर्को सर्जिकल कारणमा दिसाको मलद्वारको भागमा घाउ, पाइल्स, फिसरहरु भयो भने पनि बच्चाहरुले दिसा गर्दा दुख्छ भनेर दिसा गर्न रोक्ने बानी परेको हुन्छ ।

    Advertisement

    कुनै बच्चाहरु मोबाइल, टिभीमा व्यस्त हुने, शारीरिक व्यायाम नगर्र्ने बिस्तारामै मात्र बस्ने, मोबाइल चलाउने र पोग्राम, गेम छुटिहाल्छ कि भनेर दिसा रोक्छन् । यसरी दिसा रोक्न उनीहरुलाई बानी पर्दै जान्छ । कुनै कुनै बच्चाले आफुलाई उपयुक्त लाग्ने दिसा गर्ने ठाउँ नभेट्दा अथवा ठाउँ परिवर्तन भएर पनि दिसा नै नगर्ने पनि हुन्छन् । आज, भोलि, पर्सि गर्दै दिनकै दिसा रोक्ने बानी पर्दै जादा आन्द्राको तल्लो भाग रेक्टममा आएर दिशा बस्छ । दिनकै दिसा गरेन भने त्यसमा भएको पानीको मात्रा शरीरले सोसिदिन थाल्छ र दिसाको भाग झनझन साह्रो साह्रो र ठूलो ठूलो हुँदै जान्छ र दिसा छिटो हुन सक्दैन । कुनैदिन दिशा गरिहाल्यो भनेपनि एकदम दुखाइ हुने भएकाले बच्चाले अर्कोपटक दिसा गर्दा फेरि दुख्छ भनेर रोक्ने कोशिस गर्दछ । दुखाइकै कारण दिशा रोक्ने, पानी कम पिउने जस्ता कारणले कब्जियतको समस्या झन विकराल हुँदै गएको छ ।

    अभिभावकले ध्यान दिनुपर्ने कुरा अभिभावकले आफ्नो बालबच्चाहरुले नियमित दिसा गरेको छ कि छैन भनेर ध्यान दिनुपर्दछ । नियमित क्रियाकलापहरु पढाई लेखाइबाहेक खेलकुद, व्यायम जस्ता शारीरिक क्रियाकलापमा पनि जोड दिनुपर्दछ । उनीहरुलाई फाइबर, रेसादार खानेकुराहरु नियमित रुपमा खुवाउनुपर्दछ । बाहिरी बजारिया जंकफुड धेरै प्रयोग गर्न दिनुहँुदैन । बजारिया जंकफूड भन्दा बरु घरमा बनाएर रोटी, दाल, तरकारी मकैका परिकार दिनुपर्दछ । घरमा खाना बनाउन झण्झट मानेर नजिकैको होटेल/पसलबाट लेज, कुरकुरे, पानीपुरी चटपटेजस्ता अनावश्यक खाद्यपर्दाथहरु प्रयोग गर्दा कब्जियतको समस्या अझ बढी विकराल हुँदै जान्छ । यसका साथै अन्य समयमा पनि आफ्ना नानीबाबुहरुले कस्ता खानेकुरा खाँदैछन् भनेर अभिभावकले निगरानी राख्नुपर्दछ ।

    Advertisement

    कब्जियतको समस्या बढ्दै गएमा बच्चाको वृद्धि विकासमा पनि असर गर्ने देखिएको छ । त्यसैले प्रत्येक अभिभावकले आफ्नो बालबच्चाले नियमित पानी पिएको छ कि छैन ? भन्ने कुरामा पनि ध्यान दिनुपर्दछ । बालबालिकाहरुको उमेर समुह अनुसार पानी कति पिउने भन्ने कुरा रहन्छ । पानी पिउने सवालमा भर्खर जन्मेको बच्चालाई आमाको दूधमात्रले पनि पर्याप्त हुन्छ । ६ महिना कटेको बच्चालाई आमाको दूधमात्र नभएर अन्य ठोस खानेकुराहरु सँगसँगै पानी पनि चाहिन्छ भन्ने कुरा बुझ्नुपर्दछ ।

    विशेषतः कतिपय अभिभावकले आफ्नो बच्चाले एक दुई लिटरसम्म टन्न दूध खान्छ भन्नुहुन्छ तर धेरै दूधमात्र खाने बच्चालाई पनि कब्जियतको समस्या देखिने सम्भावना बढी हुन्छ । त्यसैले अभिभावकले रेसादार खानेकुरा, पानीसँगै शारीरिक व्यायमलाई पनि ध्यान दिनुपर्दछ । बाहिरी जंकफुडहरुको प्रयोगमा न्यून गर्दै सकेसम्म प्रयोग नै नगर्दा उत्तम हुन्छ ।

    Advertisement

    (भरतपुर अस्पताल र नेशनल सिटी अस्पताल भरतपुरमा कार्यरत बालरोग विशेषज्ञ डा. तिवारीसँग कान्तिपुर हेल्थका लागि निशा श्रेष्ठले गरेको कुराकानीमा आधारित)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »