Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज गाई तिहार

    २७ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई र गोरुको पूजा गरिँदैछ ।

    गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको हो ।

    Advertisement

    आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराज बताउँछन् ।

    आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गोवर्द्धन पहाडको प्रतिमा बनाएर गोवर्द्धन पूजासमेत गरिन्छ ।

    Advertisement

    आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई ‘देउसी’ भएको हो ।

    नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

    Advertisement

    आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमा दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »