२० असोज, बाँके । बाँकेको खजुरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा खाने पानीको अभाव हुदाँ विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ । खजुरा गाँउपालिका वडा नं. ८ घियामा रहेको उक्त विद्यालयमा शुद्ध खानेपानीको अभाव, वाल बाउन्ड्र र भवनको समस्या रहेको बताइएको छ । यस वडाको यो पहिलो र एउटा मात्रै विद्यालय हो ।
खानेपानीको अभावका कारण विद्यार्थीहरुलाई विद्यालय बाहिर पानी खानालाई धाउनुपर्ने अवस्था छ । विद्यालयमा कक्षाहरु व्यवस्थापन हुन नसक्दा पठनपाठनमा समस्या भएको र त्यस कारण उपलब्धी पनि राम्रो नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इल्यास खान बताए ।
Advertisement
नाईल खबर संग उनले भने, ‘कक्षाहरु निरन्तर रुपमा भइरहेको छ । सहकर्मी साथीहरु एकदम एक्टिभ छन र जोसजागरका साथ पढाइरहेका छन ।’
अध्यक्ष खानले शिक्षक अपुग भएका कारण आन्तरिक श्रोतबाट दुई जनालाई व्यवस्थापन गरेर कक्षा संचालन गरी रहेका जानकारी गराए । उनले भने, ‘कत्ति दिन सम्म अब हामी व्यवस्थापन गर्न सक्छौं । आन्तरिक श्रोत पनि छैन । यसको बजेट पनि छैन स्कुलमा त्यसले कत्ति दिन सम्म धान्न सक्छौं ? शिक्षकको पनि समस्या छ ।’
Advertisement
अपुग दुई जना शिक्षकको श्रोत व्यवस्थापनका लागि स्थानीय सरकार संग अपेक्षा गरेका छन ।
विद्यालयको प्रयाप्त जग्गा नहुदाँ विद्यार्थीहरुको लागि खेलमैदानको समेत अभाव रहेको विद्यालयले जनाएको छ । अध्यक्ष खानले खेलमैदानको विषयमा जानकारी गराउदै भने, ‘विद्यालयको आफ्नै प्रयाप्त जग्गा छैन । तर डेढ दुई कठ्ठा जति एक जनाको नाममा छ अहिलेपनि र विद्यालयको नाममा पास गराउन हामी पहल गरिरहेका छौं ।’
Advertisement
विद्यालयमा रहेको पानीको धारामा आर्सेनिक बढी मात्रामा रहेको छ । विद्यालयमा पानी फिल्टरका लागि मेसिन जडान गरिएको भएपनि आर्सेनिकको मात्रा अत्याधिक भएकोले फिल्टर गर्न नसकेको विद्यालयले जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष खानले यस विषयमा पालिका, शिक्षा शाखालाई जानकारी भएपनि अझै केन्द्रित भएर ध्यानाकर्षण गरिदिन अनुरोध गरे ।
माध्यमिक तह ईन्चार्ज एवं अंग्रेजी विषयका शिक्षक सिंह राज न्यौपानेले विषयगत रुपमा शिक्षकको दरबन्दीको अभाव रहेको बताए । उनले यो विद्यालय अनुदानले मात्रै चलेको जिकिर गरे । उनले भने, ‘धेरै साथीहरु पालिका, संघीय र राहत अनुदानबाटै यो विद्यालय संचालन भएको छ ।’
Advertisement
त्यही पनि प्रयाप्त मात्रमा अनुदान दरबन्दी नरहेकोले विद्यालयले धेरै समस्या झेल्नु परेको शिक्षक न्यौपानेले बताए । उनले समस्याको विषयमा थपभने, ‘प्रयाप्त मात्रमा शिक्षक नहुदाँ हामीले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरेर आधारभूत प्राथमिक तहमा अध्यापन गराउने दुई जना शिक्षक हुनुहुन्छ, दरबन्दी अभाव छ ।’
नेपाल सरकारले सामुदायिक विद्यालयमा शिक्षकले हप्तामा २४ घण्टा अध्यापन गराउनुपर्ने तोकेको छ । तर आफुहरु त्यो भन्दा बढी भार थेकिरहेको शिक्षक न्यौपानेले बताए । उनले भने, ‘हामीले दिनमा ६-७ वटा विषय लिएर व्यवस्थापन गरिरहेका छौं ।’
विद्यालयका लेखापालले समेत कक्षा लिएर व्यवस्थापन गरिरहेको बताइएको छ । शिक्षकको कारणवस अनुपस्थितीमा व्यवस्थापन समिति अध्यक्ष खानले समेत अध्यापन गराउने गरेको र जसका कारण पनि केही सहज भएको शिक्षक न्यौपानेले जानकारी गराए ।
भौतिक पुर्वधारको अभावका कारण अझैपनि विद्यार्थीहरु बाहिर गईरहेका विद्यालयले जनाएको छ । विद्यालयमा कक्षा कोठाको अभाव र भएका भौतिक संरचनामा बर्खाको बेला पानी चुहिने समस्या रहेको शिक्षकले बताउँछन ।
माध्यमिक तहमा कार्यरत राजेन्द्र ढकालले यस समुदायमा ग्रासरुट लेबलका अभिभावकहरु पनि रहेकाछन जसका कारण धान रोप्ने, काट्ने जस्तो सिजनमा विद्यार्थीहरुको उपस्थिती न्यून हुने गरेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान नदिनको कारण यो ठाँउ ओझेलमा परेको जिकिर गरे ।
उनले भने, ‘यो एकदमै पछाडी परेको हो । यहाँ राजनितिक दलका नेताहरुले पनि देख्न नसकेका हुन की, राजनितिक पहुँच नपुगेको की हामी आफैले पनि देखाउन नसकेको हो ?’
खजुरा नगरउमुख गाँउपालिका हो । भौगोलिक र जनसंख्याको बसोबास हिसाबले यस पालिकाको वडा नं. १,२,३ र ४ मिश्रित समुदायको बसोबास रहेको छ भने ५,६,७ र ८ मा मधेसी मुस्लिमको बाहुल्यता रहेको छ ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रदेशबाट पहिलो वर्ष चार कोठे भवन र दोस्रो वर्ष पनि लुम्बिनी प्रदेशको सहयोगमा ४ कोठे भवन गरेर आठ कोठाका नयाँ भवन निर्माण भएको खजुरा गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिए । खजुरा ८ मा रहको एक मात्र पशुपति मावि यस अघि भौतिक पुर्वधार कम्जोर भएको विद्यालय थियो । पुराना भवनहरु रहेका थिए ।
हाल यस विद्यालयमा आइसिटी ल्याब, पुस्तकालय, साईन्स ल्याबहरु स्थापना भएको छ । विद्यालयलाई अगाडि बढाउनको लागि विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सुधार योजना निर्माण गर्न र त्यहाँ भएका समस्या समाधानका लागि प्राथमिकताको आधारमा निर्देशन गरिरहेको शाखा प्रमुख मल्लले बताए ।
विद्यालयमा बालविकास केन्द्र पनि संचालनमा छ । बालविकासमा ३६ जना विद्यार्थी रहेका छन । यस्तै, कक्षा १ मा ३० जना, कक्षा २ मा २९ जना, ३ मा २२ जना, ४ मा ४७ जना, ५ मा ३१ जना, ६ मा २७ जना, ७ मा २८ जना, ८ मा ३१ जना, ९ मा २३ जना र कक्षा १० मा ३० जना गरेर कुल ३ सय ३६ जना विद्यार्थीहरु अध्यनरत छन ।
शिक्षा शाखा प्रमुख मल्लले भने, ‘बालविकासको लागि १ वटा कक्षाकोठा, प्राथमिक तहमा ३ वटा दरबन्दी, निम्न माध्यमिक तहमा दरबन्दी छैन तर पालिका तर्फबाट २ वटा कोटा र संघीय अनुदानबाट एउटा र माध्यमिक तहमा पनि दरबन्दी नभएकोले ३ वटा शिक्षण सहयोग संघीय अनुदानबाट र एउटा पालिकाबाट शिक्षकहरुको व्यवस्थापन गरेका छौं ।’
उनले कम्पाउण्डको लागि पनि लुम्बिनी प्रदेशमा बजेट कार्यक्रम परेको जानकारी दिए । भौगोलिक समस्याका कारणले पनि बोरिङ गर्दा धमिलो पानी आउने गरेको हुनले समान्य तालिकाले पानीको समस्या समाधान गर्न नसक्ने मल्लले जानकारी गराए ।
उनले भने, ‘त्यस कारण यहाँ बाहिरबाट पानी सप्लाई गर्ने वा डिप बोरिङ जडान गर्ने विकल्पको रुपमा रहेको छ ।’ उनले विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार, प्रदेश र संघीय सरकार एकिकृत रुपमा समस्या समाधान गनुपर्ने अवस्था रहेको बताए ।
विद्यार्थीहरुको नियमित रुपमा पठनपाठनमा विद्यालय व्यवस्थापन समितिले गम्भिर रुपमा ध्यानदिनुपर्ने मल्लले बताए । उनले भने, ‘विद्यालय व्यवस्थापनले गर्न पर्ने कामहरुमा पनि योजनावद्ध ढंगबाट बढनुपर्छ र क्षमता अभिवृद्धि गर्नुपर्नेछ । कुन समस्या कहाँ राख्नुपर्ने भन्ने कुरापनि जान्न पर्यो र सिख्न पर्यो । यसका लागि स्थानीय तहको योजना निर्माण गर्ने बेलामा विद्यालयका लागि ध्यानाकर्षण गराउन सकिन्छ ।’
स्थानीय सरकार संग विद्यालयको समस्या समाधानका लागि समन्वय र पहलगर्ने विषयमा विद्यालय व्यवस्थापन समितिको कमिकम्जोरी रहेको प्रमुख मल्लले स्पिष्ट पारे । उनले समस्या समाधान गर्न एकिकृत रुपमा जुट्न विद्यालय व्यवस्थापन समितिलाई अनुरोध गरे ।
उनले भने, ‘यो विद्यालय शैक्षिक हिसाबले, भौतिक र व्यवस्थापकिय हिसाबले समेत कम्जोर छ । त्यो कुरालाई सुधार गर्न उहाँहरुलाई नै तयार हुनुपर्छ । र हाम्रो सहयोग चाहिन्छ भने कतिबेला चाहियो हामी संबोधन गर्न तयार छौं ।’
यद्दपी विद्यालयमा पहिलाको अवस्था भन्दा अहिले धेरै सुधार भएको छ र पालिकाले भर्खर मात्र स्थाई शिक्षक टिका वलीलाई प्रधानध्यापक बनाएर पठाएको शिक्षा शाखा प्रमुख मल्लले जानकारी गराए । प्रधानध्यापक टिका वली नयाँ र योजनावद्ध ढंगबाट अगाडि बढिरहेको बुझिएको छ ।
खजुरा गाँउपालिकाको शिक्षा क्षेत्रमा पालिका, प्रादेशिक र संघीय सरकारको गरेर कुल ३२ करोड ४० लाख ३१ हजार लगानी रहेको प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । यस बजेटमा शिक्षकको तलब, भत्ता देखि विकास निर्माण समावेश छ ।
अधिकृत अर्जुन सुवेदीका अनुसार गत आर्थिक वर्षपनि उक्त विद्यालयमा पालिका तर्फबाट सहयोग भएको छ । उनले भने, ‘गत वर्ष लाइब्रेरीमा सहयोग गरेका छौं र निरन्तर रुपमा गरिरहेका छौं ।’
विद्यालय क्षेत्रमा पानीको सतह निकै तल भएकोले खानेपानीको व्यवस्थापनमा समस्या भएको बुझिएको छ । केही दिन अगाडि मात्र गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित विज्ञ टोली अनुगमन गरेको थियो । त्यहाँ तीन ३ सय देखि ४ सय फुट सम्म तल बोर गर्नुपर्ने र त्यसको लागि करिब ३ करोड ७५ लाख अनुमानित बजेट खर्चिने भएको हुदाँ पालिकाले आफ्नो श्रोतबाट व्यवस्थापन गर्न नसक्ने अधिकृत सुवेदीले जानकारी गराए ।
खजुरा गाँउपालिका वडा नं. ८ मा निर्माणधिन खानेपानी आयोजना समेत रहेको हुनले चाढै सम्पन्न गरी पाईप लाईन विस्तार गरेर पानी पुर्याउदा कम लागतमा समस्या समाधान हुनेभएकोले त्यसै अनुसार पालिका अगाडि बढिरहेको अधिकृत सुवेदीले जानकारी गराए ।
यता खजुरा गाँउपालिका वडा नं. ८ का वडाध्यक्षले यस आर्थिक वर्षमा पशुपति माविको गेट र वाल निर्माणका लागि २ लाख ५० हजार बजेट छुट्याएको बताए ।

















टिप्पणीहरू