२० साउन, काठमाडौँ । भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजारमा बिहीबार राति खसेको पहिरोमा परेका नेपालीको खोजी भैरहेको बताईएको छ ।
केदारनाथधामको पैदलमार्ग सुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीय मध्ये तीन जनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन् । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन ।
Advertisement
पहिरोमा १६ जना नेपाली बेपत्ता भएको अनुमान गरे पनि यकिन संख्या प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालिकोटका गरी १६ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बेपत्ता हुनेको यकिन संख्या र विवरण प्राप्त हुन बाँकी रहेको बताए ।
पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकाय सँग निरन्तर पहल भइरहेको उनले जानकारी गराए ।
Advertisement
त्यहाँको स्थानीय सञ्चार माध्यमका अनुसार बेपत्ता भएकालाई खोज्ने काम भैरहे पनि नदीमा पानीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ भएको छ ।
तस्बिर : पीटीआई



















टिप्पणीहरू