८ जेठ, बाँके । बाँकेको नेपालगञ्ज स्थित पशु क्वारेन्टाईनले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आन्तरिक ओसार पसार र त्यसमा पनि विशेष गरी जिउँदो पशुहरूको ओसार पसारमा कडाईका साथ चेकजाँच थालेको छ ।
पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जले जिउँदो पशु वस्तुहरूको ओसार पसारमा कतिपय ढुवानीकर्ताहरूले यातना हुने ढङ्गले ढुवानी गर्ने गरेको पाईएपछि कडाईका साथ चेकजाँच गर्दै आईरहेको डा. विनय कुमार कणर्ले जानकारी दिए ।
Advertisement
उनका अनुसार कतिपय ढुवानीकर्ताहरुले जनावरको नाकमा डोरी हालेर माथि तिर टाउको फर्काएर ट्रकमा बाँध्ने, पुच्छरलाई निर्दयी ढङ्गले निमोठेर बाँध्ने, बाटामा दाना पानी नखुवाउने तथा आराम नगराउने, क्षमता भन्दा बढी वस्तु भाउ बोक्ने गरेको, राजमार्गमा पर्ने अस्थायी आन्तरिक क्वारेन्टाईन चेक पोष्ट, तथा प्रहरी चौकीहरू र राजमार्गमा खटिएका अन्य सुरक्षाकर्मीहरुलाई अटेर गरी गाडी हुइक्याई भाग्ने घटनाहरू हुदैँ आएको हुनले गम्भिर ध्यानाकर्षण भएको डा. कणर्ले बताए ।
उक्त घटनाहरुलाई ध्यानमा राख्दै कडाईका साथ हाईवे चेकिङ्गलाई प्राथमिकता दिदै आएको पशु क्वारेन्टाईनले जनाएको हो । यस बाहेक ढुवानीकर्ताले पशुजन्य वस्तु खरिद गर्दा बिल नबोक्ने र पशुको स्वास्थ्य परिक्षण समेत नगराउने पाईको प्राविधिक शाखाकी इन्दु रेग्मीले जानकारी गराईन ।
Advertisement
उनका अनुसार आइतबार गरिएको हाईवे चेकिङ्गमा ढुवानीकर्ताले खरिद बिल नबोकेको र पशुको स्वास्थ्य परिक्षण समेत नगराएको फेला परेपछि जरिवाना गरिएको थियो ।
यता प्रशासन शाखाका ईन्द्र बिकका अनुसार पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जले तीन वटा जिल्ला बाँके, बर्दिया र दाङ्ग क्षेत्रलाई समेटेर कार्य सम्पादन गर्दै आइरहेको छ ।
Advertisement
पशु, पशुजन्य वस्तु वा पशु उत्पादन सामग्रीको नेपाल सरहद भित्र ढुवानी गर्दा प्रचलित पशु ढुवानी मापदण्ड, २०६४ मा भएका विभिन्न प्रावधानहरूको पालना गरी पशु ढुवानी तथा बजारीकरणको प्रयासलाई मर्यादित बनाउन पशु क्वारेन्टाईन कार्यालय, नेपालगञ्जले अनुरोध गरेको छ ।
टिप्पणीहरू