Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालको सार्वजनिक ऋण प्रतिव्यक्ति ७३ हजार ८ सय ६० रुपैयाँ

    ८ जेठ, काठमाण्डौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रुपैयाँ बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

    Advertisement

    चालु आर्थिक वर्ष २०७९/८० सुरु हुँदा अर्थात् गएको वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख रुपैयाँ बराबर ऋण थपिएको हो ।

    नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ४० प्रतिशत बराबर देखिएको छ । जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आउँदा दिनमा देशको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ ।

    Advertisement

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिना अवधिमा मात्र सरकारले दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको छ भने एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख रुपैयाँ बराबर साँवा ब्याज तिरेको छ ।

    वैशाख मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब १८ अर्ब रुपैयाँले बढी हो । वैशाख मसान्तसम्ममा सरकारको पुँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ ।

    Advertisement

    यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

    चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ३२ अर्ब ९९ करोड ६२ रुपैयाँ खर्चिएको छ । आन्तरिकतर्फको साँवा रकम ६३ अर्ब ४७ करोड ४४ लाख, ब्याज ४६ अर्ब ८५ करोड तीन लाख र कमिसन रकम १० करोड ११ लाख रुपैयाँ बराबर रहेको छ । त्यस्तै, बाह्य ऋणतर्फ साँवा भुक्तानीमा २५ अर्ब ९४ करोड ४८ लाख र ब्याज भुक्तानीमा सात अर्ब पाँच करोड १४ लाख रुपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ।

    Advertisement

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण एक खर्ब ५९ अर्ब ५० करोड र बाह्य ऋण ७० अर्ब ७४ करोड रुपैयाँ बराबर रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार आठ सय ६० रुपैयाँ बराबर पर्न जान्छ ।

    – उज्यालो अनलाईनबाट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »